भर्खरै : Sorry, your browser does not support inline SVG.

साकेला उधौली सुरु

साकेला उधौली सुरु

खोटाङ, । प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ । पन्ध दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा–धामीहरुले आज प्रकृतिको पूजा आराधना गरी पर्वको सुरुवात गरेको किराँत राई यायोख्खा खोटाङ शाखाले जनाएको छ ।

किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रुपमा सुरु गरिने उधौलीका अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत गरिने भएको छ । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरिन्छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राई बताउँछन् ।

साकेला उधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–हलेसी तुवाचुङ नगरपालिकाको जायाजुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला स्थानमा साकेला सिली नाच्ने चलन छ । उधौली र उभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नाका साथै साकेला स्थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।

छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरा सुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेषभूषामा सजिएर हरेक किराँत राईको घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी हुने गरेका छन् चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल–झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिन्छ ।

हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवागढीबाट विधिवत् रुपमा सुरु गरिने साकेला उधौलीको अवसरमा आफन्तजन तथा इष्टमित्रबीच शुभकामना आदानप्रदान गरिन्छ । बालकदेखि वृद्धसम्म एउटै लहरमा बसेर सामूहिक रूपमा नाचिने साकेला सिलीले दर्शकलाई समेत भरपुर मनोरञ्जन दिने गर्दछ । उधौली तथा उभौलीको अवसरमा किराँत राईले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायलेसमेत साकेला सिली ना“च्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको किराँत राई यायोख्खा खोटाङ शाखाका सचिव युगशस किराँतले बताए ।

“यस पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ”, उहाँले भन्नुभयो, “साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गरी आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।” साकेला उधौली पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ ।

साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा मानाउने गरेका छन् । अन्नबाली लगाउने समय अर्थात बैशाख पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात मङ्सिर पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेंशीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःख सुखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ ।

 


Thali Mobile Pvt.Ltd.