भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सागको बीउको बजार नपाउँदा किसान चिन्तित

सागको बीउको बजार नपाउँदा किसान चिन्तित

फलाते, म्याग्दी, । निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा म्याग्दीका किसान चिन्तित छन् । उत्पादित रायो सागको बीउले उचित बजार मूल्य नपाउँदा म्याग्दीका किसान चिन्तामा परेका हुन् । उचित मूल्य नपाएपछि उनीहरु बीउ उत्पादनका लागि रायो सागको खेती घटाउन थालेका छन् । अन्नपूर्ण गाउँपालिका–५ फलाते, वडा नं ६ को चित्रे, खिबाङ, कुटुका र महभिरमा चौडा पाते मार्फा रायो जातको बीउ उत्पादन हुने गरेको छ ।

प्रतिकिलोग्राम रु. ७५० मा बिक्री हुँदै आएको रायो सागको बीउको मूल्य घटेर यो वर्ष प्रतिकिलोग्राम रु. ७०० मा झरेको फलाते मार्फा रायो कृषक समूहका सदस्य राजेन्द्र श्रीपालीले बताए । “माग र मूल्य घटेपछि बीउ उत्पादनका लागि साग खेती घटाएका छौ”, उनले भने “वार्षिक तीन हजार पाँच सय किलोग्राम बीउ निकासी हुने फलातेबाट गत बर्ष एक हजार सात सय किलोग्राम निकासी भएको थियो ।”

पोखरा र चितवनका ब्यापारीले कोरोना भाइरस सङ्क्रमणका कारण देखाएर खरिद गर्न छाडेपछि काठमाडौंमा पठाउन थालेपनि उत्पादन भएको सबै बीउ बिक्री हुन नसकेपछि किसान चिन्तित छन् । काठमाडौंमा पठाएको छ हजार किलोग्राम बीउमध्ये तीन हजार किलोग्राम मात्र बिक्री भएको कृषक गमबहादुर पुर्जाले बताए । “बीउ बेचेर घरखर्च चलाउँदै आएका ३६ घरधुरी किसानको आयस्रोत घट्दा जीविकोपार्जनमा समस्या भएको छ”, उनले भने, “कतिपयले खेतीयोग्य जमिन बाँझै छोडेका छन् ।”

लुम्ले कृषि अनुसन्धान केन्द्रको सहयोगमा यहाँका किसान ३० वर्षअघि रायो साग खेती शुरु गरेका थिए । “बीउ उत्पादक किसानले सिचाई अभाव र रोगकीरा प्रकोपको सामना गर्नुपरेको छ”, किसान भुवन पुर्जाले भन्नुभयो, “नजिकैको खोल्साको पानी बगेर खेर गइरहेको छ तर पूर्वाधार निर्माण हुन नसक्दा यहाँका किसान सिचाईको अभावमा पिल्सिएका छन् ।” “विगतमा पोखरा र चितवनसम्म यहाँका किसानद्वारा उत्पादित बीउ बिक्री वितरण हुन्थ्यो”, उनले भने, “यो वर्ष बजार मूल्य नपाएपछि केही बीउ गोदाममा थन्किएको छ ।”

यहाँको मौलिकतामा बीउ उत्पादन गरी गुणस्तर कायम गरिँदा पनि विचौलियाका कारण म्याग्दीका किसानले सीमापारिको बीउ किन्नुपरेको किसानको गुनासो छ । ठूलो श्रम र लगानीबाट उत्पादन गरेको बीउ घरमै थन्किदा उनीहरु मर्कामा छन्”, उनले भने, “भदौमा बीउ, असोजमा बिरुवा रोपेपछि असारमा बीउ उत्पादन गर्न सकिन्छ ।” उनका अनुसार बीउ उत्पादन गर्ने सागको पात टिप्न मिल्दैन । ठूला र चौडा पात हुने मार्फा रायो साग मुस्ताङको मार्फा शितोष्ण बागवानी विकास केन्द्रले विकास गरेको हो ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुकूल हावापानी, वातावरण र भूगोल भएकाले खिवाङ र फलाते क्षेत्रलाई सागको बीउ उत्पादन केन्द्र बनाउन सिफारिस गरेको थियो । मङ्गला गाउँपालिकाको धापुङ र बेनी नगरपालिका– १० वाखेतमा पनि मार्फा रायो सागको बीउ उत्पादन गर्न परीक्षण गरिएको थियो । धापुङ र पात्लेखेतमा परीक्षण सफल हुन सकेको थिएन । दुई हजार मिटर उचाइको भूगोल मार्फा रायो सागको बीउ उत्पादनका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले बताए ।

“फलाते, कुटुका र महभिरको रायो सागको बीउ प्रमाणित गरि बजारीकरण, रोगकिराको नियन्त्रण, गुणस्तर सुधार र सिचाई सुविधाका लागि यसै वर्ष वीजवृद्धि कार्यक्रममार्फत सघाउँछौं”, उनले भन्नुभयो “तालिम, मूल बीउ र बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने देखिएको छ ।” किसानले कोदो, आलु, मकैको विकल्पमा साग खेती गरेका छन् । बीउ उत्पादन गरेर ताजा तरकारी र खाद्यबालीको तुलनामा आर्थिक हिसाबले बढी फाइदा लिन सकिने भएपनि पछिल्लो दुई वर्षयता बजार र मूल्यको समस्या देखिएको फलातेका खमबहादुर पूर्जाले बताए ।

दुई बर्षअघि फलातेमा अन्नपूर्ण गाउँपालिका र किसानको रु। १४ लाख ५० हजारको लागतमा बीउ सङ्कलन र भण्डारण केन्द्रको भवन प्रयोगमा आउन सकेको छैन् । घरघरमै गएर बीउ सङ्कलन र व्यक्तिका घरमा भण्डारण गर्नुपर्ने समस्या हटाउन गाउँपालिकाको रु। आठ लाख ८१ हजार ५४६ र उपभोक्ताको रु। पाँच लाख बराबरको श्रमदानमा सो केन्द्रका भवन निर्माण भएको थियो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा पाउने सेवा सुविधाबापतको रकम सङ्कलन गरेर बनाएको कोषबाट रु। पचास हजार सहयोग गरेका थिए । बीउ, तरकारी र आलु सङ्कलन तथा भण्डारणका अतिरिक्त सीपमूलक तालिम, बैठक, भेला सञ्चालनमा पनि यो भवनलाई प्रयोग गर्न सकिन्छ ।

बीउमा आत्मनिर्भर बनाइने

अन्नपूर्ण गाउँपालिकाले बीउमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । “विचौलियाका कारण किसान र उपभोक्ता दुवैमा मारमा परेको कुरा स्थानीय सरकारले महसुस गरेको छ”, अध्यक्ष पुनले भन्नुभयो, “अब त्यसो हुन नदिन स्थानीइ सरकार निरन्तर लागि परेको छ ।” उहाँले श्रमलाई सम्मान गर्ने संस्कार निर्माणमा गाउँपालिका लागिपरेको बताउँदै यसका लागि गाउँपालिकाले कृषिमैत्री योजना तथा कार्यक्रम ल्याएको जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.