सातै प्रदेशले पायो मुख्यमन्त्री, यी प्रदेशमा आलोपालो सरकारको नेतृत्व

सातै प्रदेशले पायो मुख्यमन्त्री, यी प्रदेशमा आलोपालो सरकारको नेतृत्व

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएसंगै सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका हुन् । मधेस प्रदेशमामा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनी प्रदेशमा एमालेका लीला गिरी, कर्णाली प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका हुन् ।

बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल, गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी र प्रदेश १ मा एमालेका हिक्मत कार्की नियुक्त भएका हुन् । ६३ जना सांसदको समर्थनमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई एमाले, माओवादी केन्द्र, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र दुई जना स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्धकुमार सिंहले समर्थन गरेका हुन । संविधानको धारा १६७ को उपधार (२) बमोजिम मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेको हो ।

एमालेका २३, जसपाका १६, जनमत पार्टीको १३, माओवादीका ९, नेपाल संघीय समाजवादीका १, राप्रपाका १ र स्वतन्त्र २ सांसदको उनलाई समर्थन रहेको छ । बाराको हरिहरपुर गाविसमा २०३० फागुन ३० गते जन्मिएका यादवले गाउँकै विद्यालयमा उच्च शिक्षा हासिल गरे । स्नातक अध्ययन नसकिँदै राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टीमा उनी लागे ।

राजनीतिमा प्रखर मानिएका उनी २०४८ सालमा तत्कालीन सद्भावना पार्टीको सदस्यता ग्रहण गरी सक्रिय राजनीतिमा होमिएका थिए । यस्तै लुम्बिनीमा लीला गिरीले मुख्मयन्त्रीमा बहुमतसहितको दाबी पेस गरेपछि बुधबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियूक्त गरेका हुन् ।

५८ जना प्रदेशसभा सदस्य एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोसपाका ३ जना र स्वतन्त्र दुई जनाले उनलाई समर्थन गरे । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घामा जन्मिएका गिरी हाल तिलोत्तमा नगरपालिका–१ स्थित शंकरनगरमा बस्दै आएका छन् ।

एमालेका प्रदेश सह इन्चार्जसमेत रहेका गिरी २०४६ देखि पार्टी कमिटीको नेतृत्वमा थिए । गिरी रुपन्देही क्षेत्र नं २ (१) बाट निर्वाचित सांसद् हुन् । यता कर्णालीमा आलोपालोमा सहमति गर्दै राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रुकुमपश्चिको प्रदेशसभा (ख) बाट निर्वाचित शर्माले २५ जना सांसद माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादीका एक र राप्रपाका एक जना सांसदको समर्थनमा दाबी पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा बहुमतको सरकार गठन गर्न २१ जना सांसद चाहिन्छ ।

शर्मा मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेस प्रतिपक्ष बनेको छ । माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति प्रदेश तहमा जुटाएका छन् । मुख्यमन्त्री र तीनवटा मन्त्रालय माओवादीले लिने र एमालेले तीनवटा मन्त्रालय लिने सहमति भएको छ । ८ वटा मन्त्रालयमा एउटा मन्त्रालय घटाएर मन्त्रालयको संख्या ७ वटा कायम गरिने जनाएको छ।

माओवादीबाट महेन्द्रबहादुर शाही र काँग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बने पछि तेस्रो मुख्यमन्त्री बनेका शर्मा माओवादीको तर्फबाट रुकुमपश्चिमबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । २०२८ साल भदौमा रुकुमको चौरजहारी नगरपालिकास्थित साक्चामा शर्माको जन्म भएको हो ।

२०५४ तिर कर्णालीका विभिन्न जिल्लाको नेतृत्व सम्हालेका शर्माले २०५८ पछि मुगु र डोल्पाको नेतृत्व गरे । २०६१ मा दैलेख झरेका उनी शान्ति प्रक्रिया सुरु हुँदासम्म दैलेखमा रहेर पार्टीको काममा सक्रिय भए । शान्ति प्रक्रियापछि पार्टीका विभिन्न मोर्चाको नेतृत्व गरेका उनले पार्टीको केन्द्रीय प्रचार विभागमा रहेर काम गरेको अनुभव छ।

यस्तै सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । ५३ सदस्यीय प्रदेश सभा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना गरी उनलाई २९ जनाको समर्थन छ । नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

२०२१ जेठ १६ गते बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा रावलको जन्म भएको हो । २०७५ मा केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इन्चार्ज भईसकेका उनी नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सह–इन्चार्ज हुन् ।

 


Thali Mobile Pvt.Ltd.