रुकुमपूर्व । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६, बयलडाँडामा आर्मी क्याम्प राख्न खोजेपछि त्यसको स्थानीयले विरोध गर्दै आएका छन् ।ढोरपाटन शिकार आरक्षले आर्मी क्याम्प राख्न खोजेको हो । आर्मी बसेपछि वनजंगलमा आफूहरुको सम्बन्ध नरहने र आर्मीले भने अनुसार चल्नुपर्ने भन्दै स्थानीयले जेठ १५ गतेबाट धर्नामा दिएका छन् ।
स्थानीय, जनप्रतिनिधि र ढोरपाटन आरक्षका प्रतिनिधिबीचको छलफलमा २४ गते गाउँपालिकास्तरीय सर्वपक्षीय बैठक बस्ने र सोही बैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने मौखिक सहमतिपछि स्थानीयले अहिले धर्ना फिर्ता लिएको बुझिएको छ । छलफलमा सहभागी ढोरपाटन शिकार आरक्षका सहायक वार्डेन अविनास थापामगरले स्थानीय पछि हटेको बताए ।
बिहानबाट आरक्षको टोली र पुथा उत्तरगंगा ५ र ६ नम्बर वडाका हालका तथा निवर्तमान वडाध्यक्षहरुसँग छलफल गरिएको जसमा पार्टीका प्रतिनिधि र स्थानीय पनि सहभागी थिए । ढोरपाटन शिकार आरक्षले आर्मी क्याम्प बनाउन भनेर यही जेठ १२ गते राति डोजर लगाएर जमिन खन्न सुरु गरिएको थियो ।
त्यसलगत्तै जेठ १३ गतेको दिन वडामा रहेको सामुदायिक वन सरोकार समितिले त्यसको विरोध गर्दै विज्ञप्ती निकालेको थियो । १३ गतेकै दिन तकसेरामा आर्मी क्याम्प राख्ने पक्षमा रहेका र विरोध जनाएकाहरुसँगै सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गर्दा पनि कुनै सहमति हुन सकेन ।
