भैरहवा । वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् ।
भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारवाही गरेरै छाड्ने बताए ।
उनले भने, ‘सोझासाझा नागरिकलाई ठगेर विदेश गएर बस्ने दलालहरुले अब ठगी गर्न नसोचे हुन्छ, हामी ठगी गर्न दिदैनौँ, ठगी गरेर विदेश जाने दलालहरुलाई विश्वको जुनसुकै कुनामा भए पनि घिसारेर ल्याउँछौँ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै शाखा संचालनमा आएकोले पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिका लागि काठमाडौं धाउनु पर्ने बाध्यता हटेको बताए ।
श्रेष्ठले जिल्ला प्रशासन कार्यालय अगाडि भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटनसमेत गरे । कार्यालयमा शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा काम सुरु भएको छ ।
भैरहवामा अब अन्य पूर्वाधार, भिसा सेन्टर, मेडिकलको व्यवस्था लगायत काम हुने बताए। विमानस्थलबाट व्यवसायिक उडान सुरु भएको दुई महिनापछि श्रमस्वीकृति दिने उद्देश्यसाथ कार्यालय स्थापना भएको छ यसले नरायाणी वारीसँगै लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशका केही जिल्लाहरुका नागरिकलाई पनि सेवा लिन सहज हुने बताए।
शाखा स्थापना भएपछि भीसा सेन्टरका लागि पनि सम्बन्धित देशका राजदुतावास मार्फत कुटनीतिक पहल भइरहेको मन्त्रलायले जनाएको छ ।

