भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ

हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ

रुकुमपूर्व । रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ छ भने कतिपयलाई लामो समयपछि भएको वर्षाका कारण खेतबारीमा खनजोतको काम भ्याइनभ्याइ भएको छ ।

जिल्लाको तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रमा परेको हिउँ हेर्न जाने गर्दछन् । विगतका वर्षमा रुकुमपूर्व, रोल्पा र बागलुङको सिमाना पातीहाल्नामा आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्दथ्यो । अहिले भूमे गाउँपालिका–१ को लुकुम आसपास क्षेत्रमा हिउँ खेल्नेको भीड देख्न सकिने लकुमकी सीता मगरले बताउनुभयो । अहिले हिउँ हेर्न जाने र ओहोरदोहोर गर्नेको चहलपहलले भूमेमा रौनकता थपिएको उहाँले जानकारी दिनुभयो । तमु ल्होसारका कारण सार्वजनिक बिदा भएपछि सरकारी कर्मचारी पनि हिउँ खेल्न लुकुम पुगेका थिए ।

“हिउँ खेल्न भनेर रुकुमकोटबाट गइयो, निकै चिसो थियो”, रुकुमकोट जिल्ला अदालतका निर्मला शर्माले भन्नुभयो, “रुवा जसरी हिउँ परिरहेको दृश्य निकै रमाइलो थियो ।” चिसोलाई बेवास्ता गर्दै परिरहेको हिउँमा झुमेर फोटो खिच्ने, टिकटक बनाउने, भिडियो बनाउने आ–आफ्नै तालमा रमाइरहेको दृश्य देख्दा खुब आनन्द आएको उहाँले बताउनुभयो ।

अहिले पनि मानिस क्यामेरा भिरेर हिउँसँगैको फोटो खिच्न र भिडियो बनाउन भन्दै लकुम आसपासको क्षेत्र रुपगामा पुग्ने गरेका छन् । “कसैलाई हिउँमा आफ्नो नाम कोरेर फोटो खिच्न भ्याइनभ्याइ छ”, हिउँ खेल्न रुपगामा पुग्नुभएका उमेश कुँवरले भन्नुभयो, “कोहीलाई हिउँको विभिन्न आकृति बनाएर फोटो खिचाउन ठिक्क छ ।” हिउँ उराल्ने, टिकटक बनाउने र फेसबुक सेताम्य बनाउनेको जमात बढेको उहाँको भनाइ छ ।

भूमे गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्काले अहिले रुपगामा रुकुमकोट र रुकुमपश्चिमका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्ने गरेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले भने स्थानीय तहसँगको सहकार्यमा बाटोमा जमेको हिउँ पन्छाउन सुरु गरेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका जाने बाटोमा पनि बाक्लो हिउँ जमेको छ । त्यहाँको बाटो सञ्चालन गरिएको छ । बाक्लो हिउँमा जोखिम मोलेर सवारी आवतजावत गर्ने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.