धुलिखेल । काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा ‘हाइड्रोजन कार’ ल्याएको छ। नयाँ–नयाँ विषयको खोज तथा अनुसन्धान गर्ने धुलिखेलस्थित विश्वविद्यालयले शनिवार कोरियामा बनेको हुण्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयमा ल्याएको हो।
केयूले उक्त हाइड्रोजन कार ३३ हजार अमेरिकी डलर (नेपाली ४३ लाख ८९ हजार रुपैयाँ) मा खरिद गरेको हो । काठमाडौँ विश्वविद्यालय सभाको ९० औँ बैठकले समेत हाइड्रोजनलाई वैकल्पिक इन्धनको रूपमा प्रयोग गर्न हाइड्रोजन उत्पादनको अनुसन्धान तथा ल्याब (प्रयोगशाला) स्थापना गर्ने निर्णय गरेको थियो।
केयूले नेपाल आयल निगमको सहयोगमा उक्त कार खरिद गरी नेपाल भित्र्याएको विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिं थापाले जानकारी दिए। उनले नेपालमा खेर जाने विद्युतलाई हाइड्रोजन उत्पादन गर्न सकिने भएको बताउँदै त्यसका लागि सरकारले सस्तो मूल्यमा विद्युत उपलब्ध गराउनुपर्ने बताए। उनले नेपालमा अहिलेसम्म हाइड्रोजन वैकल्पिक इन्धन हुन्छ भन्ने विषयमा कुनै नीति, कानुन नबनेकाले सरकारले समयको परिवर्तनसँगै हाइड्रोजन उत्पादन तथा प्रयोगसम्बन्धी नीति तयार गर्नुपर्ने बताए।
उनले २ वर्षअघि निगम र विश्वविद्यालयबीच नेपालमा हाइड्रोजनलाई वैकल्पिक इन्धनको रूपमा प्रयोग गर्न हाइड्रोजन ल्याब, हाइड्रोजनसम्बन्धी नीति, निर्माण कसरी गर्न सकिन्छ भनेर सुझाव दिन तथा नेपालको सडकमा हाइड्रोजनबाट गाडी कुदाउन सकिन्छ भनेर देखाउन भएको दुई पक्षीय सम्झौताअनुसार विश्वविद्यालयले हाइड्रोजन कार भित्र्याएको बताए।
विश्वविद्यालयले हाइड्रोजन कार चार्जिङ गर्न विश्वविद्यालय परिसरमा हाइड्रोजन रिफ्युलिङ प्रणालीसमेत जडान गरिसकेको डा.थापाले बताए। उनले केयूमा आएको हाइड्रोजन कारको तिहारपछि प्रधानमन्त्रीद्वारा उद्घाटन गराउने तयारी गरेको बताए।
