काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् । ८० दलले स्थानीय तह प्रयोजनका लागि आयोगमा दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जानकारी दिएको हो । ३० वैशाख २०७९ सालका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
आयोगका अनुसार फागुन १ देखि १५ सम्मको समयावधिमा जनमत पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायतका राजानीतिक दलहरु दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले राजनीतिक दललाई स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न भन्दै १ फागुनदेखि १५ पागुनसम्मको समय दिएको थियो ।
