काठमाडौं । नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसंगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । नेपाल र बेलीजबीच हालै दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूतरस्थायी प्रतिनिधि मण्डलले हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालसँग दौत्य र कूटनीतिक सम्बन्ध भएका मुलुकको विस्तारले अन्तर्राष्ट्रियरूपमा नेपालको छवि थप फराकिलो भएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए। मन्त्रालयका पछिल्ला गतिविधि र प्रगतिबारेमा जानकारी गराउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अप्रिल १ देखि ३ तारिखसम्म भारतको तीनदिने औपचारिक
भ्रमणले दुवै मुलुकका सम्बन्धका बहुआयामिक क्षेत्रमा छलफल भएको र दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी भएको बताए । अप्रिल ८ मा चिनियाँ जनवादी गणतन्त्रको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शुसँग सभामुख अग्निप्रसाद सापकोटाले भर्चुअल वार्ता पनि गरेको प्रवक्ता लम्सालले बताए ।
सो अवसरमा दुवै पक्षले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा गहन विचार आदानप्रदान गर्नुका साथै दुई देशका संसद्बीच उच्चस्तरीय भ्रमणको आदानप्रदान निरन्तर हुनुपर्नेमा जोड दिए । यसैगरी प्रधानमन्त्री देउवाले गत मार्च ३० मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को
पाँचौँ शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री देउवाले बिम्स्टेक सदस्य राष्ट्रले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनजन सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिकरूपमा चाल्नुपर्ने कदमकाबारेमा धारणा व्यक्त गरे ।
भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिम्स्टेक बडापत्र पारित गरेको थियो । श्रीलङ्काको कोलम्बोमा भएको शिखर सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री डा.नारायण खड्कालगायत सहभागी भएका थिए।
परराष्ट्रमन्त्री डा. खड्काको मैत्रीपूर्ण निमन्त्रणमा जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले मार्च २५ देखि २७ तारिखसम्म नेपालको भ्रमण गरेका थिए ।
सो अवसरमा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध र सहयोगका महत्वपूर्ण पक्षमा छलफलका साथै आपसी सम्बन्धलाई थप सुमधुर बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानको महत्वमा समेत जोड दिइएको थियो ।
