भर्खरै : Sorry, your browser does not support inline SVG.
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना |

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

काठमाडौँ । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।

आज गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले जानकारी दिए । भोलि काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उनले जानकारी दिए ।

सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो रु एक सय १७ बिक्री गर्नेछन् । “हामीले सङ्घका सदस्य व्यापारीलाई चिनी प्रतिकिलो रु एक सय १७ मा बिक्री गर्न निर्देशन दिएका छौँ”, उनले भने, “उपभोक्ताले चिनीका लागि निर्धारित मूल्यभन्दा बढी तिर्न पर्दैन ।”सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको उनको भनाइ छ । काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् । वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले अब विस्तारै चिनीको अभाव हट्दै जाने बताए । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उनले जानकारी दिए ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको विभागका महानिर्देशक चिलुवालले जानकारी दिए । बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगनम गर्ने निर्णय बैठकले गरेको महानिर्देशक चिलुवालले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.