महोत्तरी । बोक्सी आरोपमा महिलामाथि चरम हिंसा भइरहेको घटना फेरी दोहोरिएको छ । औरही नगरपालिका– ९ अगलेसराकी ५६ वर्षीया सुनैनादेवी ठाकुर (लोहार) र उनका देवर झवसी ठाकुरलाई बिहीबार साँझ स्थानीय रामशिलादेवी मण्डलसहितका व्यक्तिले मलमूत्र खुवाई कुटपिट गरेका छन् । जलेश्वर नगरपालिका– ४ सुगाकी ४२ वर्षीया सुकमरिया देवीलाई गत २७ असोजमा मलमूत्र खुवाई चरम यातना दिइएका हुन ।
उक्त घटनाका एक आरोपी पक्राउ परेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।
धामी र बोक्सीको आरोप लगाउँदै देवर–भाउजूलाई मलमूत्र खुवाइ कुटपिट र लुटपाटसमेत गरेका छन् । फरार भएकाहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ । छिमेकी रामकलेवर मण्डलकी पत्नी ३५ वर्षीया रामशिलादेवी बिहीबार साँझ केही स्थानीयसहित झवसीको घर आएका बेला झवसीलाई धामी बनेर पिचास पठाएको र सुनैनादेवी बोक्सी भएको भन्दै कुटपिट गरे । ‘मेरो श्रीमान् तिमीहरूले नै मारेका हौ । अब मेरो छोरा मार्न खोजेका छौ’ भन्दै रामशिलादेवीले हँसियाले आक्रमण गरेको र अरूले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।
कुटपिटबाट थलिएपछि गिलासमा दिसा घोलेर सबैले झवसी र सुनैनादेवीलाई खुवाए । कुटपिटबाट झवसीको बायाँ आँखा र दाहिने खुट्टाको तल्लो भागमा चोट लागेको छ । झवसी भनिन्, ‘हँसियाले मेरो खुट्टामा हिर्काए । उनीहरूले मेरो घाँटी नै रेट्न खोजेका थिए, तर मैले घाँटीछेउ पुर्याइसकेको हँसिया हटाउन खोज्दा आँखामा लाग्यो, घरमा भएको नगद र गरगहनासमेत लुटेर लगेका छन् ।’ यता सुनैनालाई बोक्सी आरोपमा र झवसीलाई धामीको आरोप लगाउँदै चरम हिंसा भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी दिनेश आचार्यले बताए । त्यहि घटनामा रामशिलादेवीलाई पक्राउ गरिएको एसपी आचार्यले बताए ।
अहिले घटनालाई अति सूक्ष्म तरिकाले नियालिरहेको उनको भनाइ छ । महोत्तरीमा बोक्सी आरोपमा मलमूत्र खुवाउने, चारपाटे मुण्डन गर्ने, हत्या गर्ने, कुटपिट गर्नेलगायत हिंस्रक घटना बढेको प्रशासनले नै बताएको छ । यस्ता घटनामा संलग्नलाई कानुनी माध्यमले कठघरामा उभ्याउन प्रहरी नचुकेको दावी प्रहरीको छ । औरही– ९ का वडाध्यक्ष शंकर झाले अमानवीय कार्य गर्नेलाई कानुनबमोजिम सजाय हदैसम्मको कारबाही गर्ने बताए ।
