काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने तयारी भएको निर्वाचन समितिले जनाइएको छ ।
प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकी, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनबाट कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र छुट्टाछुट्टै प्यानल भएका छन् ।
प्रदेश एकमा पूर्वमहामन्त्री कृष्णप्राद सिटौलाको उम्मेदवारलाई संस्थापन समूहले समर्थन गरेको छ । प्रदेश दुईमा उम्मेदवारको टुंगो लागिसकेको छैन् । बागमती प्रदेशमा सभापतिका लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । गण्डकीमा संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
लुम्बिनीमा सांसद भरत शाह उम्मेदवार बन्दैछन् । कर्णालीमा भुपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सुदूरपश्चिममा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने शनिबार मतदान हुनेछ ।
