म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हँुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गर्नुभयो । पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो । बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो ।
गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु ३० लाख ९३ हजार ३५२ मा सम्झौता भएको थियो । पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन् । टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो । धौलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका चार वटा स्टिल ट्रस र तीन वटा झोलुङ्गे पुलमध्ये पाँच वटा सम्पन्न भएका इन्जिनियर जिसीले बताउनुभयो । वडा नम्बर ६ मराङको अस्कारे खोलामा रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो ।
वडा नम्बर ४ नाउराको कोपिलाघाटमा रु ४० लाख ९४ हजार ४०५ को लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा रु ३२ लाख ४१ हजार ८४९ को लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताउनुभयो । गुर्जाको धुनधुनाखोलामा पनि २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण सकिएको छ । मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन् । पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो । विद्यार्थी कुट्ने शिक्षकले माफी मागे विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाउने बेनीको प्रकाश माविका शिक्षकले माफी मागेका छन् ।
विद्यालयले उपचार खर्च बेहोर्ने, शिक्षकलाई स्पष्टीकरण सोध्ने र शिक्षकले माफी माग्नेलगायत पाँचबुँदे सहमति आइतबार भएको हो । यही फागुन १३ गते लेखा विषय शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको दुई वटा करङ भाँचिएको थियो । घटनाको दश दिनपछि कुटपिट गर्ने शिक्षक घिमिरेले कमजोरी स्वीकार गरेर गल्ती नदोहोराउने लिखित माफी मागेपछि विद्यार्थीका अभिभावक र व्यवस्थापन समितिका पदाधिकारीबीच सहमतिमा हस्ताक्षर भएको हो ।
शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र दाडमा पिटेपछि करङ भाँचिएर घाइते भएका पौडेलको उपचार भइरहेको छ । निमित्त प्रअ लेखबहादुर हमाल र राजनका बुबा भीमप्रसाद पौडेलबीचको हस्ताक्षर भएको सहमतिपत्रमा घाइते विद्यार्थीलाई विद्यालयले १२ कक्षासम्म निःशुल्क पढाउने उल्लेख छ । पौडेलको स्वास्थ्य सामान्य नहुँदासम्म उपचारको क्रममा भएको खर्च पेश गरेको बिल भर्पाइको आधारमा भुक्तानी र चोटका कारण भविष्यमा कुनै समस्या आएमा विद्यालयले उपचार गर्ने सहमति भएको छ । यही फागुन १८ गतेको व्यवस्थापन समितिको बैठकले शिक्षक घिमिरेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पढाउने क्रममा कागजको ढल्ला बनाएर हानेको जनाउँदै घिमिरेले पौडेलसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई कुटपिट गर्नुभएको थियो । भीमप्रसादले मर्यादाविपरीत बालमनावैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै फागुन १५ गते विद्यालयमा निवेदन दर्ता गर्नुभएको थियो । नेपाल विद्यार्थी सङ्घले फागुन १५ गते र अनेरास्वयु क्रान्तिकारीले फागुन २२ गते विज्ञप्ति प्रकाशन गरेर शिक्षकलाई कारबाही गर्दै सुरक्षित भएर पढ्ने वातावरण बनाउन माग गरेका थिए ।
विद्यार्थी कुटेर घाइते बनाएको समाचार सार्वजनिक भएपछि शिक्षक घिमिरे, विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई दबाब परेको थियो । शिक्षक अभिभावक सङ्घका अध्यक्ष दिनेश शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य सरला सुवेदी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष नारायण ढुङ्गाना, घाइते विद्यार्थीका भिनाजु यामनाथ सुवेदी, आफन्त ऋषिकेस तिवारी, नेविसङ्घ म्याग्दीका सभापति निर्मल खत्री र बेनपा–६ का अध्यक्ष कृष्णसिंह बानियाँको रोहबरमा सहमति भएको थियो ।