ओलीको अडान : ‘म दुबै पद छाड्दिनँ, जे गर्नु छ गर्नु’

ओलीको अडान : ‘म दुबै पद छाड्दिनँ, जे गर्नु छ गर्नु’

काठमाडौं । बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आइतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । शनिबारको सचिवालय बैठकले प्रचण्ड र ओली दुबैका प्रस्तावहरु औपचारिक छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णयसमेत गरेको छ ।

बैठकमा ओलीले प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने र जे सहमति गर्नुपर्ने हो, सचिवालयकै गरिनुपर्ने अडान दोहोर्‍याए । प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’ को संगालो भन्दैओलीले त्यसलाई स्थायी कमिटीमा लैजाने कुरामा आफ्नो असहमति रहेको बताएका छन् ।

शनिबार बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले बोलेपछि झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा छलफल गर्नु उपयुक्त हुने भन्दै प्रचण्डको भनाइमा सहमति जनाएपछि अध्यक्ष केपी ओलीले त्यसमा असहमति जनाउँदै ‘बल प्रयोग नगर्न’ आनुरोध गरेको एक नेताले बताए ।

आजको बैठकमा पनि बल प्रयोग भएको छ,’ प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा भने, ‘त्यो लाञ्छना पत्रलाई छलफलमा लैजान सकिँदैन, भोलि स्थायी कमिटीको बैठक नगरौं, अलि दिन सचिवालयमै निकास निकालेर बैठक गरौं । स्थायी कमिटीको बैठक गर्न एजेण्डा पनि छैन, तयारी पनि छैन ।’

ओलीले यसो भनेपछि माधव नेपालले प्रतिवाद गर्दै भने, ‘अहिले पनि उहाँमा म नै सुप्रिम हो भन्ने छ, गल्ती स्वीकार गर्नुपर्छ भन्ने नै छैन‘।’ माधव नेपालको आलोचनापछि ओलीले भने, ‘भोलि स्थायी कमिटी बस्दैन’ प्रधानमन्त्री र अध्यक्षबाट हटाउने भनेको हो भने महाधिवेशनसम्म अध्यक्ष र अर्को चुनावसम्म प्रधानमन्त्रीबाट हटाउन सम्भव छैन, तपाईहरुले खोजेको निकास त्यो हो भने जे मन लाग्छ, गर्नोस् ।’

 


Thali Mobile Pvt.Ltd.