काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीले चेतावनी दिएका छन् ।
नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेटप्लाष्ट उद्योगमा गत शुक्रबार राति लाइन काटेको थियो । त्यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले पुस २० गतेसम्म विद्युत जडान नभएमा करिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
प्राधिकरणको भैरहवा वितरण केन्द्र र नयाँ मल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउँदै आपूर्ति पनि नभएको र प्रयोग पनि नगरेको हुँदा काटिएको लाइन जडानको माग गर्दै चेतावनी दिएका हुन् ।
आफूहरूले कानूनी उपचार खोजिरहेको र अदालतमा मुद्दा विचाराधीन रहेका बेला प्राधिकरणले रुपन्देहीका दुई वटा उद्योगको लाइन काट्नु अन्याय पूर्ण व्यवहार भएको उद्योगीहरुले बताएका छन् ।
प्राधिकरणको भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा १३ वटा उद्योगहरूको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको उद्योगीहरुले जनाएका छन् ।
