भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा हुदै, आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने

नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा हुदै, आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने

काठमाडौं । काठमाडौंमा नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक बस्दै छ । विहिबार बस्ने बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर बैठकमा सहभागी हुन काठमाडौं आउँदै छन् ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड महामारीका कारण विगत दुई वर्ष संयुक्त बैठक हुन सकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो ।

त्यसयता रोकिएको बैठक सातौं बैठक यस पटक काठमाडौंमा हुन लागेको हो । बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् । बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु छन् ।

बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।

संयुक्त आयोगको बैठक सकेर भारतीय विदेशमन्त्री जयशंकर शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ । नेपालमा रहँदा जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्ने छन् । जयशंकर नेतृत्वको भारतीय टोली परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.