भर्खरै : Sorry, your browser does not support inline SVG.

किसानलाई अनुदानमा गहुँ

किसानलाई अनुदानमा गहुँ

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो । गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको जनाएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालविर चौधरीले जानकारी दिए ।

“हामीले जति पनि आवेदन दिएका किसान सबैलाई क्षेत्रफलको आधारमा १० कठ्ठाभन्दा माथि क्षेत्रफलमा खेती गर्नेलाई ५० प्रतिशत र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिहेका छौँ”, कृषि शाखा प्रमुख चौधरीले भने, “गाउँपालिकाभित्र ७५ प्रतिशत अनुदानमा १८३ किसान र ५० प्रतिशत अनुदानमा १५३ किसानलाई गहुँको बीउ उपलब्ध गराउँदै छौँ ।” पालिकाले किसानलाई उन्नत जात विजय, एलएल, बाणगङ्गालगायत बीउ वितरण गरिरहेको छ । गाउँपालिकाले अविरल वर्षा र बाढीका कारण धानबालीमा क्षति भएका किसानका लागि पनि अनुदान दिने योजना बनाएको चौधरी बताए ।

“कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, त्यसैमाथि बाढीले पीडामा रहेका किसानलाई गहुँको बीउ दिएर हौसला दिन खोजिएको हो”, चौधरीले भने, “हामीले अन्य खाले अनुदान दिने विषयमा छलफल गरिरहेका छौँ ।” अनुदानमा उन्नत जातको गहुँको बीउ पाएपछि किसान खुशी भएका छन् । जानकी गाउँपालिका–२ का गजेन्द्रबहादुर चौधरीले तीन बिघा जमिन गहुँ खेती गरिरहनु भएको छ । उहाँ गाउँपालिकाबाट उन्नत जातको गहुँको बीउ पाएपछि खुसी हुनुभएको छ । “गाउँपालिकाबाट गहुँको बीउ पाउँदा मात्र होइन अरु किसान खुसी भएका छौँ ।बाढीले वितण्डा मच्चाएको यो समयमा बीउ किन्न निकै समस्या भएका बेला पालिकाले सहयोग गरेको छ”,

किसान चौधरीले भने, “गहुँको बीउ पाउँदा समयको बचत भएको छ, आर्थिक बचत भएको छ । उन्नत जातको बीउ पाएकाले उत्पादन बढ्नेछ ।” जानकी गाउँपालिका–५ का विन्दू भण्डारीले पनि गाउँपालिकाबाट अनुदानमा गहुँको बीउ पाउनुभयो । “हामीले बाहिरबाट गहुँको बीउ ल्याउँदा समस्या हुन्थ्यो, गाउँपालिकाबाट पाउँदा सहज भयो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले गहुँको बीउ मात्र नभई मलमा सहयोग गर्दा अझ किसानलाई राहत हुने थियो । अब मल, प्राविधिक सहयोग पनि चाहिएको छ ।”

कैलाली धान र गहुँ खेतीका लागि उर्बर भूमि मानिन्छ । यहाँका किसानलाई खेतीमा आकर्षित गर्न स्थानीय पालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अनुदान सहयोग, औजार तथा प्राविधिक सहयोग गर्दै आएका छन् । यहाँ खेतीका लागि उर्बर भूमि रहेकाले कैलालीको टीकापुर र जानकीमा मात्रै दर्जनबढी सहकारीले बीउ वृद्धिका क्षेत्रमा काम गरिरहेका छन् । यहाँका सहकारीले उत्पादन गरेको बीउ अन्य जिल्लामा जाने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.