काठमाडौं । प्रजातन्त्र स्थापना तथा विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राजनीति त्याग र साहस प्रायबनेका निष्ठाको केन्द्र गणेशमान उच्च नेता बन्न सफल भएका थिए ।
ऐतिहासिक जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह गर्दापनि सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको नमूना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते क्षेत्रपाटीमा जन्मेका गणेशमानको २०५४ असोज २ गते निधन भएको थियो ।
विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानका सक्रिय नेता समेत थिए। राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो । २००७ अघि नै भद्रगोल जेल फोडेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए ।
बिपी कोइरालासँग राजनीतिक सम्बन्ध, विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व, प्रजातन्त्र स्थापनाका लागि २००७ को क्रान्तिका एक अगुवाका रूपमा गणेशमानले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए । सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा परिचित थिए ।
विसं २०१५ मा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्न सफल भए ।
राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे । पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरे । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे ।
विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्न पुगे। विसं २०१७ पुस १ गतेको ‘कू’पछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।
२०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले विभिन्न कार्यक्रम आयोजना देशैभर मनाउने नेपाली काँग्रेसले जनाएको छ ।
लौहपुरुषको उपमा
गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले पुकारिन्छ । त्यतिमात्र होइन, बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै सिंहको पारिवारिक नाम हीराकाजी थियो । जेठा दाजु मातृकाप्रसाद कोइरालालाई ठुल्दाजु भनिएकाले भाइ बिपीलाई सान्दाजु भनिएको हो ।
त्यसैगरी जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नातिलाई बडाकाजी परिवारको अत्यन्त महत्वपूर्ण निधि मानेर हीरा भन्ने गरिएको र बडाकाजी परिवारमा जन्मेकाले काजी भन्ने गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिन्थ्यो ।
