भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँः प्रबन्ध निर्देशक झा

चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँः प्रबन्ध निर्देशक झा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्‍याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । यस वर्ष कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले राससलाई जानकारी दिनुभयो ।

कोरोनाको महामारीको समयमा बिग्रिएको शैक्षिकसत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसवर्ष जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको मात्रै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ, एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हो, त्यसमध्ये एक करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापिसक्यौँ, अब बाँकीे १५ लाख थान केही दिनभित्रै छपाइ सकेर जिल्ला जिल्ला पठाउछौँ ।”

केन्द्रका प्रबन्ध निर्देशक झाले दैनिक एक लाख २५ हजार थान पुस्तक छपाइ गरिएको जानकारी दिँदै केन्द्रका कारण पाठ्यपुस्तक अभाव नहुने र वितरण प्रणाली प्रभावकारी बनाएर शैक्षिकसत्र सुरु हुनुअगावै जिल्ला जिल्लामा पुस्तक पुग्ने बताउनुभयो ।

गत वर्ष दुई करोड थान पुस्तक छापेकामा यस वर्ष कक्षा ४ र ५ को पुस्तक छपाइको जिम्मेवारी सरकारले निजीलाई दिएपछि केन्द्रले कम पुस्तक छाप्ने भएको हो । गत वर्षको २० लाख थान पुस्तक बाँकी रहेको केन्द्रले जनाएको छ ।

छापिसकेका पुस्तक बाहिरी र दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर शाखा कार्यालयमा पठाउने काम भइरहेको केन्द्रका बजार व्यवस्थापन शाखाका प्रमुख चित्रराज आचार्यले बताउनुभयो । उहाँले उपत्यकासहित नजिकका केही जिल्लालाई सबै पुस्तक छपाइ सकेर अन्तिममा वितरण गर्ने बताउनुभयो । “गत वर्ष निर्वाचनको मतपत्र छपाइ भयो । कागज समयमा नआउँदा अभावका कारण छपाइमा केही समस्या आएको थियो । यस वर्ष छपाइमा कुनै समस्या छैन”, उहाँले भन्नुभयो ।

चैत २० गतेदेखि पुस्तक बिक्री सुरु हुने र दुई दिनभित्रै पुस्तक जिल्ला जिल्लामा पुर्‍याउने केन्द्रको दाबी छ । केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुरमा पुस्तक पठाउनेक्रम जारी छ । लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइ त्यहाँबाट पनि वितरण गर्ने जनाएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक झाले भन्नुभयो, “यस वर्ष सरकारको योजनाअनुसार नयाँ शैक्षिक सत्रको सुरुआतमा विद्यार्थीको हातहातमा पुस्तक पुग्नेगरी केन्द्रका नौ शाखा कार्यालयमा पुस्तक पुर्‍याइसकेका छौँ, देशभरका वितरण केन्द्रमार्फत विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ ।”

हिमाली र केही दुर्गम पहाडी जिल्लामा पुस्तक पुर्‍याउन छ दिनसम्म लाग्ने र अन्य जिल्लामा दुई दिनमै पुस्तक पुर्‍याउने उहाँको भनाइ छ । झाका अनुसार पुस्तक वितरणका लागि केन्द्रले वितरकसमेत छनोट गरिसकेको छ ।

पाठ्यपुस्तकको मूल्यवृद्धि भने यस वर्ष पनि नहुने भएको छ । नयाँ पाठ्यक्रम लागू भएका केही विषयको मूल्य निर्धारण आज हुने बताइएको छ । सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको एक करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ । नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसमेत लागू हुने भएपछि नयाँ पाठ्य पुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.