प्युठान । झिमरुक गाउँपालिकाले कृषि तालिम तथा नर्सरी प्रदर्शनी केन्द्र सञ्चालन गरेको छ । गत वर्षको माघदेखि गाउँपालिकाको केन्द्र नजिकै वडा नं ४ स्थित भ्यागुतेमा केन्द्र सञ्चालनमा ल्याएको हो ।
चार रोपनी जग्गा लिजमा लिई प्रदर्शनी केन्द्रमा कृषकलाई तालिमसँगै विभिन्न तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टेकबहादुर विकले जानकारी दिए । अघिल्लो वर्ष अढाइ रोपनीमा सञ्चालन गरिएको फार्म यस वर्ष चार रोपनीमा विस्तार गरिएको उनको भनाई छ ।
कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफैँ जग्गा लिजमा लिई प्रयोगात्मकका लागि खेती गरेको हो । प्रयोगात्मक कृषि तालिम सञ्चालन भएसँगै कृषि गर्न इच्छुक कृषक मात्र तालिममा सहभागी हुने गरेका छन् । पालिका क्षेत्रभित्र बाहिरबाट आएको तरकारीमा आत्मनिर्भर हुने देखिएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन थप टेवा पुर्याउने विश्वास पालिकाले लिएको छ ।
पालिकाले सञ्चालन गरेको प्रदर्शनी केन्द्रमा हाल टमाटर, च्याउ, आलु, गाँजर, धनिया, भान्टा, मुलालगायतका तरकारी उत्पादन भइरहेका छन् ।किसानले परम्परागतरूपमा ड्याङ नपारी आलु लगाउने गरे पनि हाल ड्याङ पारेर आलु लगाउन सिकेका छन् । गाउँपालिकाले आफ्नै क्षेत्रमा तरकारी खेती सञ्चालन गर्नुले यहाँका किसानलाई फाइदासमेत पुगेको छ ।
