भर्खरै : Sorry, your browser does not support inline SVG.

रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण

रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३.५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो ।

ट्रस प्रविधिको सो पुलले ४० टन भार वहन गर्न सक्ने क्षमता रहेको इन्जिनीयर जितेन्द्र सिंहले बताए। उनका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्की पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन रु दुई करोड ५० लाख खर्च भएको छ । पुल निर्माण भएसँगै राहुघाट जलविद्युत् आयोजनाको बाँध सिधा सडक सञ्जालमा जोडिएको छ । यसअघि नदीमा पुल नहुँदा बाँध निर्माणका लागि आवश्यक पर्ने उपकरण र सामग्री ढुवानी हुन सकेको थिएन ।

राहुघाट जलविद्युत् आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि शुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताए । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको राहुघाट जलविद्युतको रघुगङ्गा–३ तिल्केनीस्थित विद्युत्गृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ ।रासस..

 


Thali Mobile Pvt.Ltd.