भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

थप साना चार दललाई गठबन्धनमा ल्याउने प्रयास, मुख्यमन्त्री नछाड्ने साना दलकाे अडान

थप साना चार दललाई गठबन्धनमा ल्याउने प्रयास, मुख्यमन्त्री नछाड्ने साना दलकाे अडान

काठमाडौँ । संघीय सरकारमा अप्रत्यासित फेरबदल भएपछि थप चार दललाई ल्याउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिपरेका छन् । साना दलहरूलाई पनि गठबन्धनमा सामेल गर्न संवादलाई निरन्तरता दिन थालेका छन् । संघीय सरकारका लागि चार दलको गणित सहज भएपनि प्रदेशको गणितमा निर्णायक हुने साना दललाई गठबन्धनमा सामेल गराउनैपर्ने बाध्यता आइपरेको छ ।

काँग्रेससहितको आठ दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहालले सोमबार अप्रत्यासित काँग्रेससँगको गठबन्धन तोडेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको साथ लिएका छन् । प्रतिनिधिसभामा एमालेको ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२ सिट गरी १४२ सिटसहित नयाँ गठबन्धन बनाएर प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । प्रतिनिधिसभामा बहुमतका लागि प्रधानमन्त्री दाहाललाई १३८ मत आवश्यक पर्छ ।

जसका लागि अहिलेको चारदलीय गठबन्धन पर्याप्त छ । तर संघीय गठबन्धन फेरिएसँगै सातै प्रदेशको गणितमा त्यसको असर पर्ने भएकाले दलहरू साना दलहरुलाई समेत साथ लिने प्रयासमा लागेका छन् । नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि संवाद थालेका छन् । गठबन्धनका अन्य नेताहरूले पनि यी दलसँग संवाद गरिरहेको बुझिएको छ।

प्रधानमन्त्री दाहालले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै निवासमै पुगेर भेटेका छन् । प्रतिनिधिसभामा एकीकृत समाजवादीको १० सिट छ । जनमतको ६, नागरिक उन्मुक्तिको ४ र लोसपाको ४ सिट छ । एमाले महासचिव शंकर पोखरेलले साना दलहरुलाई पनि साथ लिएर अघि बढ्न चाहेको अभिव्यक्ति दिएका छन् । मन्त्रालय बाँडफाँटमा सहमति भए एकीकृत समाजवादी सरकारमा आउने लगभग सहमति जुटिसकेको छ ।

प्रधानमन्त्री दाहालले सोमबारमात्रै वामपन्थी एकताका लागि आफूले फेरि एकपटक प्रयास गरेको जिकिर गरेका छन् । प्रदेश सरकार गठन गर्ने सन्दर्भमा सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरीको नेतृत्वको नागरिक उन्मुक्ति पार्टी निर्णायक छन् । त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोसपासमेत प्रदेशमा निर्णायक अवस्थामा छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सकारात्मक रहेको जनाइसकेका छन् । त्यसबारे निर्णय गर्न नागरिक उन्मुक्तिले बैठक बोलाएको छ । तर दुवै दलले आफ्नो प्रभाव रहेका प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.