देशमा विदेशी संस्कृतिको प्रभाव पर्नुु चिन्ताको विषय हाे, शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख पाएः अध्यक्ष विजुक्छे

देशमा विदेशी संस्कृतिको प्रभाव पर्नुु चिन्ताको विषय हाे, शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख पाएः अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख पाइरहेको बताएका छन् । मन्त्रीहरुले ऐन लागू गर्ने काम भन्दा पनि नीतिगत काममा जोड दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष विजुक्छेले भक्तपुर नगरपालिकाको बार्‍हौं नगरसभाको समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष विजुक्छेले नगरसभा पूर्ण सफलताको कामना गर्दै नेपालका युवाहरुलाई राजनैतिक दलहरुले सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिको प्रभाव परिरहेको उल्लेख गरे । कुनै पनि देशमा विदेशी संस्कृतिको प्रभाव पर्नुु चिन्ताको विषय भएकाले यसलाई गम्भीर रुपमा बुुझ्नुपर्ने समेत बताए । विभिन्न राजनीतिक घटनाक्रमलाई हेर्दा एसियाबाट तेस्रो विश्वयुद्धको सुरुवात हुन सक्ने सम्भावनालाई नकार्न नमिल्ने बताए ।

त्यस्तै कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र आदि विषयबारे विद्यार्थीहरुलाई जानकार गराउन शिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । भक्तपुर नगरपालिकाले चित्रकला विषयको अध्यपानमा जोड दिनुपर्ने बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन भएमा देशभरिका विद्यार्थीहरु लाभान्वित हुने उल्लेख गरे ।

कार्यक्रममा अध्यक्ष विजुक्छेले आध्यात्मिक विकास नभई भौतिक विकास सम्भव नहुने उल्लेख गर्दै नेपालमा राजनीतिक संगठन र व्यवस्था सही नहुँदा राणाशासन पतन भएको जिकिर गरे ।

त्यस्तै कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताउँदै नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको उल्लेख गरे । भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक र पर्यटकीय गन्तव्य स्थल बनाउन जनप्रतिनिधि निरन्तर क्रियाशील हुनुपर्ने, विकास निर्माणका कार्यहरु उपभोक्ता समितिमार्फत आर्थिक अनुशासनमा बसी पारदर्शी ढंगले सम्पन्न गर्ने कार्यलाई विगतमा झै नगरपालिकाले चालु राख्नुपर्ने उल्लेख गरे ।

त्यसैगरी सांसद सुवालले अस्पताल र उद्योगबाट निस्कने फोहरमैला व्यवस्थापनमा नगरपालिकाले ध्यान दिनुपर्ने बताए । फोहोरमैला व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्न सके ८० प्रतिशत फोहोर स्रोतमै व्यवस्थापन हुने जिकिर गरे ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनालाई प्राथमिकतामा राखी जनभावनाबमोजिम छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिंदै न्युनत्तम दुई आना दुई पैसा (०–२–२–०) को नीति अनुसारको आयोजना भएकोले सोहीअनुसार कायम गर्नुपर्ने बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरबासीहरूको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाए । ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरुको टोली समेत गठन गरी आवश्यक तयारी गर्ने उल्लेख गर्दै ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालनमा जोड दिने बताए ।

आउँदा दिनहरुमा नगरपालिकाद्वारा प्रवाह गरिने सेवा सुविधालाई सरल, छिटो बनाइने र अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेका उल्लेख गरे ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम व्यवहारिक र जनताको जीवनसँग सम्बन्धित रहेको उल्लेख गर्दै भक्तपुर नपा देशकै हितको निम्ति मार्गनिर्देश गर्ने स्थानीय तह भएको बताए ।

प्रदेश सदस्य गोसाइँले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भइरहेकाले भक्तपुर नपाले एसपीपीको पूर्ण खारेजीको माग गर्नुपर्ने बताए । पछिल्लो समयमा नयाँ पुस्तामा व्यक्तिवादी चिन्तन हावी भइसकेकाले समाजलाई अग्रगामी बाटोमा लैजान सामूहिक चिन्तनसहितको सेवाको भावबाट नयाँ पुस्तालाई उत्साहित गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै बागमती प्रदेशका अर्का प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले समाजवादी चिन्तनको सफल प्रयोग गरिरहेको, जनसहभागितामा आधारित विकासको मोडलको देशव्यापी रुपमा चर्चाको विषय बनिरहेको उल्लेख गरिन् । सरकारले समाजवादी चिन्तनमा आधारित बजेट निर्माण भएमा मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने बताइन् ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले गौरवशाली इतिहास बोकेको भक्तपुर नपा आज देशकै उत्कृष्ट नगरको रुपमा परिचित भएकाे बताउँदै काठमाडौं उपत्यकाको सम्पदा जगेर्नामा भक्तपुर नपाले अग्रणी भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा भक्तपुर जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुर नपाको नीति तथा कार्यक्रममा नगरको लाभ प्रवद्र्धन गर्न सकिने जनमुखी खालका विषयवस्तु समाविष्ट भएको उल्लेख गर्दै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको उद्देश्य आफैमा नमुनायोग्य भएको उल्लेख गरिन् ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताल काठमाडौं उपत्यकाकै सुविधासम्पन्न अस्पतालको रुपमा अगाडि बढिरहेको बताउँदै भक्तपुर नपाले टोलटोलमा क्यान्सर परीक्षण शिविर सञ्चालन गरी व्यापक जनतालाई क्यान्सर रोगका बारेमा सचेत बनाउन आवश्यक रहेको बताए ।

ख्वप विश्वविद्यालयले १५ लाखमा एमबीबीएसको पढाउने नीति सराहनीय भएको बताउँदै देशभरीका विद्यार्थीहरु लाभान्वित हुने भएकाले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गरिरहन अनुरोध गरे ।

 


Thali Mobile Pvt.Ltd.