भक्तपुर । चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ सहितको सेवा सुरु भएको छ । मध्यपुर थिमी नगरपालिका स्थित कोरिया नेपाल मैत्री नगर अस्पतालको सहकार्यमा सेवा विस्तार भएको अस्पताल प्रशासनले जनाएको छ । दुवै अस्पतालबीच विशेषज्ञ सहितको सेवा विस्तारमा सहकार्यका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
नगर अस्पताल चाँगुनारायणको प्राङ्गण विशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख जीवन खत्री र मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । मध्यपुर थिमी नगरपालिका प्रमुख एवं कोरियामैत्री नगरपालिका अस्पतालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले चाँगुनारायणसँग स्वास्थ्य सेवाको क्षेत्रमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
सहकार्यले नगरबासीहरू लाभान्वित हुने बताए । फोहोर मैला व्यवस्थापनमा पनि मध्यपुर थिमी नगरपालिकाले चाँगुनारायण नगरपालिकासँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गर्न तत्पर रहेको बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले स्वास्थ्य बिमा, निःशुल्क उपचार, आधारभूत स्वास्थ्य, जनताको अधिकार नाराका साथ आफ्नै स्वास्थ्य नीति तयार गरी नगरबासीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन आफु मातहतका ८ वटै स्वास्थ्य चौकी र चाँगुनारायण नगर अस्पतालबाट नियमित रूपमा स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको जानकारी दिए ।
स्वास्थ्य सेवामा नगरवासीको पहुँच र गुणस्तरीय सेवा नगर अस्पतालबाटै उपलब्ध गराउन अस्पतालको थप स्तारोन्नती गर्ने बताए । अक्सिजन प्लान्ट अस्पतालमै निर्माण गरिएकोले आवश्यक बिरामीहरूलाई निःशुल्क उपलब्ध गराइने जानकारी दिए ।
अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष मनोजकुमार थापाले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै २०३९ सालमा स्वास्थ्य चौकी, २०५८ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०७७ मङ्सिर २८ गतेबाट चाँगुनारायण अस्पतालमा परिणत भएर सेवा प्रदान गर्दै आएको बताए ।
अबदेखि साप्ताहिक रूपमा हाड जोर्नी विशेषज्ञ, बाल रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञलगायतको सेवा प्रदान गरिने अस्पतालका मेडिकल अधिकृत शैलेस तवानाबासुले बताए । स्वास्थ्य शाखाका अधिकृत अनिल ढुङ्गेलको सञ्चालन रहेको कार्यक्रममा कार्यक्रममा पूर्व माननीय कृष्णलाल भँडेल,
संसद् सचिवालयका सचिव सुदर्शन खड्का, प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, कोरियामैत्री नगर अस्पतालका मे.अ डा. डी.के रोशन, वडाध्यक्ष रोज बहादुर तामाङ र जयन्द्र खड्का, स्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवाल, पूर्व वडाध्यक्ष बुद्धिलाल महर्जन, समाजसेवी रोशन कुमार पौडेल, रामभक्त खत्री, यवती कार्की, जमुना थापा लगायत स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
