भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका उच्च पदस्थ व्यक्तिहरुको संलग्नता हुनु देशद्रोही कार्य भएको बताएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनपश्चात भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष भएको अवसरमा भक्तपुर नगरपालिकाले शनिबार गरेको कार्यक्रमलाई सम्बाधन गर्दै अध्यक्ष विजुक्छेले नक्कली भुटानी सरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गरी जनतामाझ उदांग्याउनु जरुरी रहेको बताएका हुन ।
अध्यक्ष विजुक्छेले राजनीतिक कार्यकर्ताहरुले कसैको दबाब र प्रभावमा काम गर्दा देश नै दुर्घटनाग्रस्त हुने उदाहरण दिँदै विदेश शक्तिसामु झुक्ने शासकहरूको प्रवृत्तिले गर्दा नेपाल साम्राज्यवादीहरुको जालोमा फस्दै गइरहेको बताए । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिने व्यवस्था देशको हितविपरीत रहेको तर्क समेत गरे ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न चुनौतीहरुबीच निर्वाचनमा जनतासमक्ष घोषणापत्रमार्फत गरेका प्रतिबद्धता पूरा गर्न भक्तपुर नपा कटिबद्ध भइ लागिरहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुरका जनताको एकता, सहयोगी भावना र पुनःजागरण नै यहाँको विशेषताको रुपमा अगाडि बढिरहेको बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले समाजवादउन्मुख गतिविधिलाई जोड दिँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यअनुसार शिक्षा शिक्षा, स्वास्थ्य, पर्यटन,सम्पदा संरक्षण, सरसफाईलगायतका क्षेत्रलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको बताइन । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दोस्रो कार्यकालको पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै बाँकी कार्यकाल अझै उदाहरणीय रहने विश्वास व्यक्त गरे ।
उनले स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै उपलब्ध स्रोतसाधनको अधिकत्तम उपयोग गरी जनताको हितमा अझ सशक्त ढंगले काम गर्न नपा अग्रसर हुनुपर्नेमा सुझाए । कानुन अध्ययन समाज, नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले भक्तपुर नपा स्थानीय सरकारको नमुना स्थानीय तहको रुपमा रहेको चर्चा गर्दै भक्तपुरको आजको विकासमा नेमकिपाको अतुलनीय योगदान स्मरणयोग्य रहेको उल्लेख गरे ।
ख्वप ई. कलेज प्राचार्य सुजन माकले कलेज स्थापनादेखि हालसम्ममा भक्तपुर नपाका १,८५५ जना विद्यार्थीले विविध विषयमा ई. अध्ययन गर्ने अवसरमा प्राप्त गरेको बताए । भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले स्थापित ख्वप इ. कलेजमा ७७ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै उनले ख्वप ई. कलेज नेपालकै उत्कृष्ट कलेजको रुपमा अगाडि बढिहरको अवगत गराए ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले विगत ९ महिनामा ख्वप अस्पतालले १ लाख ७९ हजार बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको तथ्यांक प्रस्तुत गर्दै अस्पतालले प्रसुती सेवाको पनि बिस्तार गरिसकेको अवगत गराए । कार्यक्रममा भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले धन्यवादज्ञापन गरेका थिए भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले आफ्नो धारणा राखेका थिए ।
