भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

नेपाल नेत्रज्योति संघ र महिडोल युनिभर्सिटीबीच समझदारी

नेपाल नेत्रज्योति संघ र महिडोल युनिभर्सिटीबीच समझदारी

थाइल्याण्ड। आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति संघ र थाइल्याण्डको महिडोल युनिभर्सिटीका बीचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैंककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति संघले जनाएको छ।

आँखा उपचार सेवाको विकास र विस्तारका लागि ज्ञान, विशेषज्ञता र प्रविधिहरू आदान–प्रदानका लागि दुई संस्थाहरुका बीचमा समझदारी भएको जनाइएको छ। उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा संकाय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौताअनुसार अब दुई संस्थाले थाइल्याण्ड, नेपाल तथा अन्य देशहरूमा आँखा परीक्षणलगायतका आँखा हेरचाहसम्बन्धी कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन्। नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्रका अनुसार नेपाल र थाइल्याण्डका नेत्र विशेषज्ञ तथा अन्य आँखा सेवामा संलग्न विज्ञहरूको अनुभव तथा क्षमता अभिवृद्धि गर्न संयुक्त रूपमा काम गर्नेछन् भने ‘इन्टर्नशिप’ तथा छात्रवृत्तिहरूको समेत आदानप्रदान हुनेछ।

महिडोल विश्वविद्यालय थाइल्याण्डको सबैभन्दा पुरानो र प्रतिष्ठित चिकित्सा संस्था मानिन्छ। सन् १८८८ मा तत्कालीन राजा चुलालोङ्कोर्न (राम पञ्चम) द्वारा स्थापना गरिएको चिकित्सा अनुसन्धान र शिक्षामा उत्कृष्टता हासिल गरेको सो विश्वविद्यालयले स्वास्थ्य सेवाको प्रवद्र्धनमा विश्वव्यापी रूपमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाइएको छ।

सन् १९७८ मा स्थापना भएको नेपाल नेत्रज्योति संघ नेपालकै अग्रणी गैरसरकारी संस्था रहेको छ। यसले सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ। २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र, र ४५ जिल्ला शाखामार्फत् संघले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ।

दुई संस्थाका बीचमा भएको यो समझदारीले नेपाल–थाइल्याण्ड सहकार्यमा नयाँ अध्यायको सुरुआत गरेको बताइएको छ। यसले उच्च गुणस्तरको आँखा उपचार सेवा प्रदान गर्ने र यस क्षेत्रभरि रोकथाम गर्न सकिने अन्धोपन कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास संघले लिएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.