काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनै पर्ने निष्कर्ष सर्वोच्च अदालतका न्यायाधीशहरूले गरेका छन् । प्रधानन्यायाधीश जबराकै कार्यकक्षमा गएर उनीहरुले राजीनामा दिन आग्रह गर्ने बताएका छन् ।
सर्वोच्चको न्यायाधीश बन्ने अधिकार अब जबरालाई नभएको ठहर उनीहरुको छ । गरिमा, निष्पक्षता र मर्यादामा जवराकै कारण आँच आएको दावी गर्दै राजीनामा माग्ने निर्णयमा पुगेको न्यायाधीशहरुले जिकिर गरेका छन् । केही विषयमा बुँदागत अवधारणा प्रस्तुत गरेर राजीनामा माग्ने तयारी भएको सर्वोच्चका एक न्यायाधीशले बताए ।
न्यायपालिकामा बसेर कार्यपालिकासँग पदको सौदावाजी गरेको, पदको सौदावाजीका कारण अरु न्यायाधीशहरूलाई अप्ठेरो परेको, संवैधानिक निकायमा भागबण्डा गर्ने र मुद्दा नहेर्ने प्रवृति भएको, मुद्दामा चलखेल गर्ने र स्वार्थका क्रियाकलापहरु बढेर गएको, न्यायपालिका सुधारका एजेण्डामा मौखिक प्रतिवद्धता मात्रै आएकोलगाएतका सैद्धान्तिक आधार खडागरेर राजीनामा दिन बाध्य पार्ने तर्क न्यायाधीशहरुको छ ।
गजेन्द्र हमालको नियुक्ति र प्रधानन्यायाधीश जबराको रवैयाका कारण मिडियाले खबरदारी गर्दा हमालको प्रतिरक्षा गर्नु र हमाल नै मन्त्री नियुक्त हुनुले अदालतको गरिमा खस्कीएको दावी गरेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कसैको दबाबमा परेर पदबाट राजीनामा नदिने बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै जबराले राजीनामा नदिने बताएका हुन् । जबराले भने, ‘संविधानको प्रक्रियाबाट म आएको हुँ र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो, न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ ।’
