भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘पत्रकारिता पेसा थप मर्यादित हुनुपर्छ’

‘पत्रकारिता पेसा थप मर्यादित हुनुपर्छ’

सप्तरी । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, विश्वसनीय बनाउँदै जानुपर्ने बताउनुभएको छ । सप्तरीको राजविराजमा मङ्गलबार आयोजित लोकेन्द्र स्मृति दिवसका अवसरमा उहाँले पत्रकारितालाई अवरुद्ध गरेर अर्को बाटोबाट परिवर्तन हुन नसक्ने भएकाले यस क्षेत्रलाई नै विश्वसनीय बनाउनुको विकल्प नरहेको बताउनुभयो ।“पत्रकारिता अरु क्षेत्रबाट गर्न नसकिने विशिष्ट चरित्र हो”, बस्नेतले भन्नुभयो, “अन्य क्षेत्रबाट विकास गर्न वा तत्काल परिणाम निकाल्न सकिँदैन । तर सक्रिय, विश्वसनीय र साँचो पत्रकारितामार्फत तत्कालै परिणाम ल्याउन सकिन्छ ।” पुराना पुस्ताले गरेका राम्रो कामको अनुशरण र अवलम्बन गर्दै जानुपर्ने र सच्याउनुपर्ने विषयमा छलफल गरेर समाधान खोज्दै जानुपर्ने उहाँले बताउनुभयो । पेसालाई मर्यादापूर्ण, विश्वसनीय बनाउन गहनरूपमा छलफल र मनन गर्नुपर्नेमा उहाको जोड थियो ।नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईँले पत्रकारले विश्वसनीयता र सबैले पत्याउने ढङ्गले असल पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । यस क्षेत्रभित्र बाहिर र भित्र देखिएका समस्या समाधान गर्नुपर्ने बताउँदै उहाँले साझा समस्या पहिचान गरेर समाधानमा लाग्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा हरेक वर्ष प्रदान गर्दै आएको ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार’ राजविराजबाट प्रकाशित हुने पूर्व प्रभात दैनिकका सम्पादक बिन्दु यादवलाई प्रदान गरिएको छ । २९ औँ लोकेन्द्र स्मृति दिवसका अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले यादवलाई नगद रु पाँच हजार पाँच र प्रमाणपत्रसहित पुरस्कार प्रदान गर्नुभयो ।सल्यान जिल्लाको कोटमौला घर भई सप्तरी कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको विसं २०५० हत्या भएको थियो । महासङ्घ सप्तरीले २०५१ सालमा उहाँकै स्मृतिमा यो पुरस्कार स्थापना गरेको थियो । बुढाथोकी काठमाडौँबाट प्रकाशित हुने दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज सप्ताहिकका सहसम्पादक हुनुहुन्थ्यो ।राजविराजस्थित समाज कल्याण केन्द्रमा बसेर एसएलसीसम्मको पढाइ पूरा गर्नुभएको बुढाथोकी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिएल दोस्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज–६ स्थित डेरामा हत्या भएको थियो ।

सोही समारोहमा वातावरणीय पत्रकारिता पुरस्कार उमेश साहलाई प्रदान गरिएको छ । पत्रकार उमा सिंहको स्मृतिमा आजको वातावरण दैनिक पत्रिकाले स्थापना गरेको पुरस्कार ग्रामीण क्षेत्रमा रहेर कार्यरत साहलाई दिइएको हो । साहलाई दोसल्लासहित पुरस्कारस्वरुप प्रमाणपत्र र रु एक हजार पाँच प्रदान गरिएको छ । सप्तरीको बोदे बरसाइन नगरपालिकालाई कार्यक्षेत्र बनाएर मधेस टप अनलाइन र पब्लिक प्रेसको सहसम्पादक रहेर साह कार्यरत छन् ।महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहाल, पूर्वसदस्य अनिल अनल, महासङ्घका पूर्व केन्द्रीय सदस्य अवधेश झा, पूर्वअध्यक्ष विष्णु मण्डल, वैद्यनाथ झा, मुरलीप्रसाद यादव, जितेन्द्र खड्गाले पत्रकारितालाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभएको थियो । महासङ्घका सचिव रामनारायण विश्वास, उपाध्यक्ष वैधनाथ यादव र सल्लाहकार मनोहर पोखरेलले लोकेन्द्र बुढाथोकीको जिवनीबारे चर्चा गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.