भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न

प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न

विराटनगर । प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन शुरु हुनुभन्दा अगावै निर्माण सम्पन्न हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभाहलको निर्माण करीब ६० प्रतिशत सम्पन्न भइसकेको छ ।  सातौँ तथा हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको भवन २०७७ साल असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गर्नुभएको थियो ।

निर्माण कम्पनीले आगामी फागुन मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि भवनको नक्सा र स्वरुपमा भएको परिवर्तनले केही ढिलाइ भएको बताइएको छ । नयाँ सभाहल करीब ३०० मानिस अट्ने छ । सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्चनका बाबजुद पनि साविक जिल्ला विकास समति मोरङको सभा हलमा सञ्चालन भएको प्रदेशसभा अब नयाँ भवनमा सहज एवं सरल हुने बताउनुभयो । उहाँले यो भवन समयमै निर्माण गर्न र गुणस्तरमा विशेष ध्यान दिन निर्माण कम्पनीलाई बारम्बार ताकेता पनि गरिरहेको बताउनुभयो ।

अन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्माण गर्न लागेको यो पहिलो संरचना हो भन्नुभयो । मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोका रुपमा रहेको प्रदेशसभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने भन्नुभयो । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले भवनको शुरुआती नक्सा र स्वरुपमा केही परिवर्तन गरिएकाले निर्माण लागत बढ्ने जानकारी दिनुभयो । उहाँले भवन निर्माण सम्पन्न गर्न थप रु एक करोड २५ लाख बजेट अपुग भएको देखिएको छ र सो रकम माग गर्ने काम भएको बताउनुभयो ।

सचिव पराजुलीले सभाहलमा आवश्यक पर्ने फर्निचरको व्यवस्थापन गर्न करीब रु १८ लाखको ठेक्का लगाइसकिएको छ भन्नुभयो । जिल्ला समन्वय समितिको एक बिघा तीन कठ्ठा क्षेत्रफलभित्र बन्न लागेको यो भवनले संसद् सञ्चालन गर्न सहज एवं सरल हुने विश्वास लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.