काठमाडौँ । कोरोना भाइरसको महामारीमा पनि औषधि तथा खोप पत्ता लाग्न सकेको छैन । संक्रमण नियन्त्रणउन्मुख भइसकेका युरोपका कतिपय मुलुकमा कोरोनाले फेरि महामारीको रूप लिएको छ । विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएका छन् ।
जाडो याम सुरू भएपछि संक्रमण झन् बढ्न सक्ने अुनमान गर्दै नेपालका विशेषज्ञहरुले फ्लुको खोप लगाउन सुझाएका छन् । कोरोना र अरू इन्फ्लुएन्जा फ्लुको अधिकांश लक्षण उस्तै हुने भएकाले पनि फ्लुको खोप उपयुक्त हुने उनीहरुको सुझाव छ । फ्लुको खोप लगाउँदा रुघाखोकी र सामान्य ज्वरो आएकै भरमा पीसीआर परीक्षणमा पुग्ने मानिसको संख्या स्वतः घट्ने चिकित्सकको भनाइ छ ।
सरकारले लक्षण देखिएकाहरूको मात्र पीसीआर परीक्षण गर्ने गरी मापदण्ड संशोधन गरेको छ । मापदण्ड संशोधनपछि भइरहेको परीक्षणमा दैनिक परीक्षणमा सरदर २५ प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको छ । बाँकी ७५ प्रतिशत मानिसमा फ्लु वा अरू कुनै समस्या देखिएको विज्ञको भनाईछ ।
