बल्ल जिल्ला जिल्लामा मल पठाउन थालियो

बल्ल जिल्ला जिल्लामा मल पठाउन थालियो

वीरगञ्ज । ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल पठाउन थालिएको हो ।

कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताका आधारमा जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले बताए । बाँकी रासायनिक मल भित्रिने क्रम जारी रहेको उनको भनाइ छ ।

उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा ल्याउन लागिएको जानकारी दिए । कार्यालयले मधेस प्रदेशसहित काठमाडौँ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ ।

जिल्लामा रहेका कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिदै आएको छ । सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै नेपाल ल्याइएको रासायनिक मल सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको हो ।

३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो । ओमानबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै रेलमा वीरगञ्ज ढुवानी हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.