भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

बाँकेमा निजी वनप्रति आकर्षण बढ्दो

बाँकेमा निजी वनप्रति आकर्षण बढ्दो

बाँके । बाँकेमा निजी वनप्रति आकर्षण बढ्दै गएको छ ।  कम मेहनतमा अन्य खेतीभन्दा १० औँ गुणा बढी आम्दानी हुने भएपछि निजी वनप्रति आकर्षण बढ्दै गएको हो । खोला तथा नदी किनारमा रुख रोप्दै आएका किसानले पछिल्ला दिनमा उब्जनी कम हुने खेतबारीमा पनि रुख रोप्न थालेका छन् । सरकारले पछिल्ला वर्षमा खेतबारीमा रुख लगाउने किसान र व्यवसायीलाई प्रोत्साहित गर्दै आएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बाँकेमा १२४ वटा निजी वन दर्ता भएका छन् । त्यसमा ७० दशमलव ९१ हेक्टर क्षेत्रफलमा रूख लगाउने कार्य भएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख वन अधिकृत राजु क्षेत्रीले बताउनुभयो ।

“यो दर्ता भएर लगाइएको निजी वनको तथ्याङ्क मात्र हो”, उहाँले भन्नुभयो, “दर्ता नगरी रूख लगाउनेको सङ्ख्या १०आँै गुणा बढी छ ।” वन कार्यालयले पनि असार–साउनमा देशैभर विभिन्न जातका रुखका विरुवा निःशुल्क वितरण गर्ने गरेको छ । डिभिजन वन कार्यालय बाँकेले वर्षेनी करिब चार लाख विरुवा उत्पादन गरी रुख खेती गर्न इच्छुक किसानलाई दिँदै आएको छ । सरकारले २३ प्रजातिका रुख कटान गर्न र काठ दाउरा ओसारपसार गर्न वन कार्यालयबाट कटान आदेश र छुटपुर्जी लिनु नपर्ने कानूनी व्यवस्था गरेपछि रुख खेती फस्टाएको हो । तर अझै पनि काठ तथा दाउरा ओसारपसार गर्दा दुःख दिने क्रम नरोकिएको गुनासो किसानको छ ।

खाद्यान्न, तरकारी र फलफूल खेतीजस्तै पछिल्ला दिनमा रुख लगाउने किसान र व्यवसायी बढ्दै गएका छन् । रुख खेतीमा धान, गहुँ, तरकारी जस्ता बालीमा जस्तो बढी मेहनत गर्नु पर्दैन । रोग र किराले नोक्सान गर्ने सम्भावना कम हुन्छ । मुनाफा भने निक्कै बढी छ । त्यसका लागि रुख रोपेको ७ देखि १० वर्ष पर्खनुपर्छ । युवाको ठूलो सङ्ख्या विदेश पलायन भएकाले खेतीपाती गर्ने जनशक्ति नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता छ । त्यसैले किसानले पनि खेतबारीमा रुख रोप्न लागेका हुन् । माग अनुसार काठ स्वदेशमा उपलब्ध नहुँदा नेपालका प्लाइउड कारखानाले ठूलो परिमाणमा कच्चा पदार्थ भारतबाट ल्याउँदै आएका छन् ।

त्यसैले पनि सङ्घीय र प्रदेश सरकारले रुख खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाउन प्रोत्साहित गर्ने नीति र कार्यक्रम सञ्चालन गर्दै आएका छन् । व्यावसायिक रुपमा रुख खेती फस्टाउँदै गए खेती गर्ने किसानसँगै नेपाली उद्यमी व्यवसायी लाभान्वित हुने र वैदेशिक घाटा कम गर्न समेत सहयोग पुग्नेछ । यसैगरी बर्दियामा समेत निजी वनतर्फ युवाको आकर्षण बढ्दै गएको छ । बर्दियामा १४६ वटा निजी वन दर्ता भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभयो । उहाँका अनुसार बर्दियामा १४२।९ हेक्टर क्षेत्रफलमा निजी वन दर्ता भएका छन् । १४ लाख २९ हजार २५९ वर्गमिटरमा निजी वन लगाएको उहाँले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.