भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बिहीबार भेट गर्नुभएको छ । ख्वप इन्जिनियरिङ कलेजमा विहिबार भएको भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरको संक्षिप्त परिचय र विशेषता, नगरपालिकाबाट सञ्चालित आवास योजना र शिक्षा, स्वास्थ्य, सम्पदा पुन : निर्माणलगायतका विकास निर्माणका कामहरुबारे अवगत गराउनुभएको हो ।
भेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा गरिरहेको गतिविधिहरुबारे प्रजापतिले अनुभव आदानप्रदान गरेको थिए । भक्तपुरको पुरानो सहरलाई सम्पदा सहरको रुपमा विकास गर्न नगरबासीहरुलाई ३५ प्रतिशत अनुदानको व्यवस्था गर्दै आइरहेको बताउनुहुँदै सांस्कृतिक संरक्षणमा निरन्तर लागेका संस्कृतिकर्मीहरुको योगदानलाई कदर गर्दै प्रत्येक वर्ष सांस्कृतिक गुरुहरुको नगरपालिकाले सम्मान गर्दै आइरहेको उनले जानकारी दिए ।
भक्तपुरका सम्पदा पुनःनिर्माणमा विदेशी संघ संस्थाहरुले निकै चासो देखाए तापनि भक्तपुर नपाले भूकम्पबाट क्षतिग्रस्त र जीर्ण सम्पदाहरु गुणस्तरीय ढंगले जनताको सहभागितामा उपभोक्ता समितिमार्फत निर्माण गरेको स्मरण गर्दै सम्पदा पुनःनिर्माणमा जनताको उल्लेख्य श्रमदान पनि रहँदै आएको प्रजापतिले जानकारी दिए ।
दमक नपाका उपप्रमुख गीता अधिकारीले दमक नपा पूर्वी नेपालको मेची अञ्चलको झापा जिल्लामा पर्ने विकसित सहरहरुमध्ये भएको बताउदै १० वडामा विभाजित यस नपामा विभिन्न जातजातिहरु बसोबास गर्दै आएको बताइन । दमक नपा बसोबासको लागि निकै उपयुक्त सहर भएको बताउदै व्यवस्थित सहर निर्माणको क्रममा दमकले आवास योजना सञ्चालनको तयारी थालेको र आवश्यक अध्ययनको लागि भक्तपुर नपा भ्रमणमा आएको उपप्रमुख अधिकारीले उल्लेख गरिन ।
कोभिड महामारीबीच जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी निःशुल्क कोभिड अस्पताल सञ्चालन गर्नुका साथै स्थानीय पाठ्यक्रम निर्माण, पुस्तकालय सञ्चालन गर्दै हिंसामा परेका महिलाहरुको संरक्षण र व्यवस्थापनमा पनि जोड दिँदै आएको उनले बताइन । यसैगरी भक्तपुर नपाका प्राविधिक ईन्जिनियरि ओमहरि थाले नपाबाट सञ्चालित तुमचो दुगुरे, लिबाली, देको मिवा इतापाके योजनाको प्राविधिक विषयमा जानकारी गराएका थिए ।
उपप्रमुख अधिकारीले भक्तपुर नपाको कार्यकक्ष, शाखा, उपशाखालगायतको स्थलगत निरीक्षण गर्नुका साथै ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेजको समेत अवलोकन गरेकी थिइन । सोही क्रममा प्रमुख प्रजापतिले उनलाई भक्तपुरको मौलिक मयुरको झ्याल र नपाका केही प्रकाशनहरु उपहारको रुपमा प्रदान गरेका थिए ।
भेटमा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, ख्वप माविका प्राचार्य प्रकाश श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, दमक नपाका प्राविधिक कर्मचारीको उपस्थिति रहेको थियो ।

