काठमाडौं । खडेरी र गर्मीले हैरान भएका बेला राहत मिल्ने भएको छ । मनसुन नजिकै आइरहेकाले खडेरी र चर्को गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन् । आज भोलिमै मनसुन नेपालको सीमामा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
भारतको उत्तर पूर्वी भू–भाग, बङ्लादेश र भुटानसम्म सक्रिय भएर नेपालको कोशी प्रदेश भित्रने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् । मनसुन नजिक आएसँगै देशका धेरै ठाउँमा बदली र वर्षा सुरु भएको छ । पछिल्लो १२ घण्टामा दोलखाको सिँगटीमा झण्डै ६० मिलिमिटर वर्षा भएको छ ।
यस्तै, काठमाण्डौमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । पश्चिमको डडेल्धुरामा पनि वर्षा भएको छ । मध्य र पश्चिम तराईमा भने पानी परेको छैन । यस्तै, आज पनि कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
