पोखरा । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । भोलि र पर्सि पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा जानकारी दिन सो पार्टीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज हितराज पाण्डेले महिला, युवा, दलितलगायतलाई पार्टी कमिटीमा प्राथमिकता दिने पार्टी नीति रहेको बताए ।
उनले १८ देखि ४० वर्षसम्मका युवालाई बढीभन्दा बढी पार्टी कमिटीमा जिम्मेवारी दिइने बताए । यसका साथै दलित १९ प्रतिशत र मुस्लिम तथा सीमान्तकृतको सहभागितासहित प्रदेश समितिमा सुनिश्चिता गरिएको बताइन्छ । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक(एक गरी सात सदस्सीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ । प्रदेशको प्रथम अधिवेशन विशेषगरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रित हुने बताइन्छ ।
माओवादीले प्रथम प्रदेश अधिवेशनको तयारी पूरा भएको र ८४६ प्रतिनिधि सहभागी हुने जनाएको छ । प्रदेश कमिटीका सचिव एवं प्रवक्ता देवेन्द्र पराजुलीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिँदै प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधि पोखरा आउने क्रम सुरु भएको बताए ।
पोखरा सभागृहमा हुने अधिवेशनमा प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तह, मनोनित प्रतिनिधि, आयोजक समिति सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रदेश सल्लाहकार सहभागी हुनेछन् । प्रदेशको अधिवेशनमा पालिकाबाट निर्वाचित ६००, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ ।
