देउखुरी । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको रु दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लािग अक्सिजन आवश्यकपर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ ।
कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यकपर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले जानकारी दिइन्। यसअघि दाङमा दाङ अक्सिजन उद्योग प्राली भिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गदै आएको छ ।
अस्पतालको पछिल्लो प्रगतिका बारेमा जानकारी लिँदै उपकुलपति भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याएएको जानकारी दिए । तेस्रो लहरको सङ्क्रमणको उपचारका लागि पूर्व तयारीका लागि २० शय्याको सघन उपचार कक्ष, ५० श्ययाको हाई डिपेन्डेन्सी युनिटएचडीयू र ३० शय्याको आइसोलेशन गरेर १०० शय्या कोरोना सङ्क्रमितका लागि व्यवस्थापन गरिएको डा भण्डारीले जानकारी दिइन्।
अस्पतालका निर्देशक डा प्रज्ञासिंह बस्नेतले बालबालिकालाई लक्षित गरेर सघन उपचार केन्द्रका शय्या थप्ने काम जारी रहेको जानकारी दिए । उहाँले अस्पतालमा ट्रान्समिटर जडान र फिडरलाइन जोड्नका लागि सम्बन्धित निकायमा पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई आग्रह गर्नुभयो । प्रजिअ कुरुम्बाङले प्रतिष्ठानको विकास र विस्तारमा आफ्नो पूर्णरुपमा सहयोग रहने बताए ।
