राष्ट्रियतामाथि खेलवाडः संवेदनशील विषयमा छलफल नै नगरि ल्याइएको नागरिकता सम्बन्धी अध्यादेशमा के छ ?

राष्ट्रियतामाथि खेलवाडः संवेदनशील विषयमा छलफल नै नगरि ल्याइएको नागरिकता सम्बन्धी अध्यादेशमा के छ ?

काठमाडौं । वंशजको नागरिकता सम्बन्धी प्रावधानलाई खुकुलो तुल्याएउँदै सरकारले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न जारी गरेको अध्यादेशमा के छ भन्ने कुरा नेपाली जनताले जान्न पाउनु पर्ने तर्क उठेको छ । जसमा २०७२ साल असोज ३ गते अघि जन्मसिद्ध आधारमा नेपालको नागरिकता लिएका बाबुआमाका सन्तानले निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपाली नागरिकता पाउने भएको छ ।

मूल ऐनको दफा ३ मा उल्लेखित वंशजको आधारमा नेपालको नागरिकता प्राप्ति सम्बन्धी प्रावधान अध्यादेशमार्फतमा संशोधन गरिएको हो । मूल ऐनको दफा ३ को उपदफा ३ लाई अध्यादेशमार्फत संशोधन गरिएको छ । मूल ऐनमा उक्त उपदफामा ‘नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने छ’ उल्लेख थियो ।

यो प्रावधानलाई संशोधन गर्दै ‘नेपाल सरहदभित्र’ शब्दहरूको साटो ‘नेपालभित्र’ बनाइएको छ । त्यस्तै ‘पितृत्व मातृत्वको’ भन्ने शब्दहरू संशोधन गर्दै ‘पितृत्व र मातृत्वको’ भन्ने शब्दहरू राखिएका छन् । सोही दफामा उपदफा ३ पछि तीनवटा उपदफा थपिएका छन् ।

जसमा उपदफा ४ मा ‘संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भनिएको छ ।

उपदफा ५ मा ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भनिएको छ । उपदफा ६ मा भनिएको छ, ‘उपदफा ५ बमोजिम नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन ।

र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा निजको नागरिकतालाई अंगीकृत नागरिकतामा परिणत गरिनेछ ।’ मूल ऐनको दफा ८ मा पनि संशोधन गरिएको छ । दफा ८ को उपदफा १ को खण्ड ‘क’ पछि अध्यादेशमार्फत खण्ड ‘क १’ थपिएको छ ।

उक्त खण्डमा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा, तर निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्नेछ’ भनिएको छ ।

यसअघि मूल ऐनमा १६ वर्ष उमेर पूरा भएको व्यक्तिले वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन दफा ८ को उपदफा १ को खण्ड (क) मा ‘बाबु वा आमा वा आफ्नो वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र तर विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाको हकमा भने यो व्यवस्था लागू हुनेछैन’ भन्ने शर्त राखिएको थियो ।

मूल ऐनको दफा ८ को उपदफा १ पछि उपदफा (१ क) थपिएको छ, जसमा ‘उपदफा १ को खण्ड (क)० मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा ४ बमोजिम नागरिकताको प्रमाणपत्र लिन निवेदन दिँदा बाबु र आमा दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने’ उल्लेख छ । अध्यादेशमार्फत मूल ऐनको दफा २१ मा पनि दुई उपदफा थपिएका छन् ।

जसअनुसार दफा ३ पछि (३ क) उपदफा थपिएको छ । उक्त उपदफामा भनिएको छ, ‘कसैले दफा ३ को उपदफा ६ बमोजिम गरेको स्वघोषणा झुटो ठहरेमा त्यस्तो झुटो स्वघोषणा गर्ने व्यक्तिलाई ६ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुटो स्वघोषणा गरी नागरिकता प्राप्त गरे वापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।’

उपदफा (३ ख) मा भनिएको छ, ‘कसैले दफा ८ को उपदफा १ को खण्ड (क१) बमोजिम गरेको स्वघोषणा झुटो ठहरेमा त्यस्तो झुटो स्वघोषणा गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुटो स्वघोषणा गरी नागरिकता प्राप्त गरे वापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।’

तत्कालीन नेकपालगायतका दलले वैवाहिक अंगीकृत र वंशजका केही प्रावधान कडा बनाउनुपर्ने भन्दै राखेको अडानकै कारण लामो समयदेखि संसद्‍मा अल्झिरहेको नागरिकता ऐनसम्बन्धी संशोधन विधेयकलाई छलेर प्रतिनिधिसभा विघटन हुने अघिल्लो दिन सरकारले सिफारिस गरेको अध्यादेश विघटनको दुई दिन नबित्दै राष्ट्रपतिले जारी गरेकी हुन् । यो विधेयक राष्ट्रियतामाथि खेलवाड भयो भनेर चौतर्फि विरोध भइरहेको छ ।

प्रतिनिधिसभामा विचाराधीन विधेयकलाई छलेर ल्याइएको नागरिकतासम्बन्धी अध्यादेश आइतबार मात्रै प्रमाणीकरण गरिएको हो । नागरिकतासम्बन्धी अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता प्रमाणपत्र भएका बाबुआमाका र बाबुको ठेगाना नखुलेका सन्तानले वंशजका आधारमा सरल बाटोबाट नागरिकता पाउनेछन् । वंशज बाबुका नामबाट सन्तानले तीन पुस्ता खुलाएर नागरिकताको प्रमाणपत्र पाउने गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानले भने यसरी नागरिकता पाउँदैन थिए । संविधान जारी भएपछि नागरिकतासम्बन्धी अद्यावधिक कानुन बन्न सकेको छैन भन्दै गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले यस अघि कानुन नबनेका कारण आमाका नामबाट पनि सन्तानलाई वंशजका आधारमा नागरिकता लिन सहज थिएन  भने । जिल्ला प्रशासन कार्यालयले कानुन नबनेको कारण देखाएर आमाका नामबाट नागरिकता लिन आउनेलाई फर्काइदिने गरेको छ । अदालतबाट आदेश लिएर आउनेले भने वंशज नागरिकता वाहक नेपाली आमाका नामबाट वंशजकै नागरिकता लिने गरेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.