काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ ।
निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ जना र प्रदेश सभामा पाँच सय ३२ जना मतदाता रहेको आयोगले जनाएको छ । मतदानको लागि आठ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था मिलाउन लागेको आयोगले जनाएको छ ।
निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले दर्ताको लागि निवेदन दिइसकेका छन् ।
कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले आज दर्ताको लागि आयोगमा जाने तयारी थालेका छन् । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने आयोगको तयारी छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत नियुक्ति गरिसकेको छ ।
