ललिता निवासः अख्तियारका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

ललिता निवासः अख्तियारका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।

आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतले जनाएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार पठाइएको प्रहरीको भनाइ छ ।

अख्तियारको आयुक्त हुनुअघि तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।

उनीसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । जसमध्ये १ सय १० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.