मुस्ताङ । विश्वका घुम्नै पर्ने पर्यटकीय गन्तव्य मध्य मुस्ताङ पनि सूचीकृतमा परेको छ । सीएनएनले जनाए अनुसार मुस्ताङ अग्रपंतिमा परेको छ । १३८ दिनको तथ्याङ्कमा मुस्ताङमा ३१ हजारबढी पर्यटक भित्रिएका छन् ।
यस वर्ष विदेशी पर्यटकको आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२३ को १ सय ३८ दिनमा ३१ हजार ३ सय ३० विदेशी पर्यटक मुस्ताङ भित्रिएको तथ्याङ्क छ ।
यो जनवरीदेखि मे १८ तारिखसम्मकोमात्रै रेकर्ड हो । अधिकांश भारतीय पर्यटक रहेको एक्यापले जनाएको छ । सार्क राष्ट्रका २८ हजार ८ सय ९७ र तेस्रो मुलुकका विदेशी २ हजार २ सय ३३ पर्यटक मुस्ताङ भित्रिएका हुन ।
जनवरीमा ५ सय ६९, फेब्रुअरीमा १ हजार ६ सय ९३, मार्चमा ६ हजार ३ सय ७४, अप्रिलमा १४ हजार ७ सय ४२ र मार्च १८ सम्ममा ७ हजार ९ सय ५२ पर्यटक मुस्ताङ भित्रिएको मसोमका कार्यालय प्रमुख अशोक सुवेदीले बताए ।
पोखरा—जोमसोम हवाई सेवामार्फत र कतिपय लमजुङ बेसीसहरदेखि मनाङ हुँदै पर्यटक मुस्ताङ भित्रिएको उनको भनाइ छ । धार्मिक तथा सांस्कृतिक पर्व अवलोकन गर्न पर्यटक उपल्लो मुस्ताङको लोमान्थाङ सम्म पुगेका हुन् ।
कलात्मक पृथक् भूगोल, ऐतिहासिक तथा धार्मिक सम्पदा, जैविक विविधता र विभिन्न खोज अनुसन्धानको केन्द्रसमेत रहेको मुस्ताङ पर्यटकीय हबको रूपमा परिचित छ । तिब्बतियन कलासंस्कृति, शदियौं पुराना गुम्बा, मठमन्दिर, छोर्तेन र मानेहरूले यहाँका धार्मिक मौलिकता विश्वमाझ उजागर गरिदिएको छ ।
अमेरिकन समाचार संस्था सीएनएनले विश्वकै घुम्नै पर्ने २३ पर्यटकीय गन्तव्यमध्ये मुस्ताङ १६औं स्थानमा सूचीकृत गरेको छ । दक्षिण एसियाकै पहिलो सूचीमा घुम्नै पर्ने स्थानमा राखेकाले पनि सन् २०२३ मा उल्लेख्य विदेशी पर्यटक मुस्ताङ आउने अनुमान गरिएको छ।
