भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

व्यवस्था होइन, मुलुकको अवस्था बदलौँः महामन्त्री शर्मा

व्यवस्था होइन, मुलुकको अवस्था बदलौँः महामन्त्री शर्मा

झापा, । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताउनुभएको छ । महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृह जिल्ला आउनुभएका उहाँले झापा र झापालीलाई आभार व्यक्त गर्न आयोजना गर्नुभएको कार्यक्रममा बोल्दै लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न र राजतन्त्र पुनःस्थापनाको भ्रम नफैल्याउन आग्रह गर्नुभयो ।

संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणको अगुवाई गर्ने उहाँको भनाइ थियो । “ठूलो पदमा पुगेँ भनेर म आफू जन्मेको जिल्लामा बधाई थाप्न पनि आएको होइन”, महामन्त्री शर्माले भन्नुभयो, “जुन दिन नेपाली कांग्रेसलाई बलियो बनाउँछु त्यही बेला बधाई पाउने हक राखुँला तर अहिलेलाई तपाईंहरुप्रति हार्दिक आभार व्यक्त गर्न आएको हूँ, शुभकामना लिन आएको हूँ ।”

उहाँले पार्टीको १४औँ महाधिवेशनले आम कार्यकर्तामा ऊर्जा भरेको चर्चा गर्दै चुनावमा भएको हार जितलाई लिएर कसैले कसैसँग पनि पूर्वाग्रही र विभेद्पूर्ण व्यवहार नगर्न अनुरोध गर्नुभयो । उहाँले आफूलाई आम कार्यकर्ताले विवेकको मत दिएको हुँदा पार्टीलाई सबल र सशक्त बनाउन दृढतापूर्वक लाग्ने बताउनुभयो । उहाँले झापा जिल्ला विद्रोहको विम्ब भएको र मुलुकको प्रजातान्त्रिक एवं वामपन्थी आन्दोलनको विद्रोह झापामै भएको उल्लेख गर्दै आफूले महामन्त्रीको उम्मेदवार हुँदै गर्दा वाचा गरेको २४ बुँदे अवधारणा पूरा गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।

काठमाडौँबाट आज चन्द्रगढी विमानस्थलमा आइपुग्दा उहाँलाई कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए । उहाँले त्यहाँबाट मेची बहुमुखी क्याम्पसको हातामा पुगेर विसं २०४६ का शहीद राम थापाको सालिक र चन्द्रगढीमा रहेको जननायक विशेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण र श्रद्धासुमन अर्पण गर्नुभएको थियो । चन्द्रगढी विमानस्थलमा हवाइजहाजबाट ओर्लिनासाथ उहाँले भुइँमा निधारले ढोगेर गृहभूमिप्रति अगाध श्रद्धा व्यक्त गर्नुभएको थियो ।

“जुन धरतीले मलाई जन्मायो, जुन माटोमा मैले हुर्किने र खेल्ने मौका पाएँ, त्यही माटोप्रति मेरो श्रद्धा हो यो”, उहाँले भन्नुभएको थियो । आभार व्यक्त गर्न बिर्तामोडको अग्रसेन भवनमा आयोजित कार्यक्रममा मञ्च खाली राखेर उहाँ र अतिथिहरु आम कार्यकर्ता बसेकै लहरमा बस्नुभएको थियो । मञ्चमा शहीदका तस्बीर मात्र राखिएको थियो । कार्यक्रममा स्वागत मन्तव्यसमेत २०६२र०६३ को जनआन्दोलनका शहीद राजन गिरीका पिता शमशेर गिरीले राख्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.