श्रीमानको निधनपछि सिन्दूर पोते लगाएरै श्रीमतिद्धारा काजकिरिया

श्रीमानको निधनपछि सिन्दूर पोते लगाएरै श्रीमतिद्धारा काजकिरिया

झापा । विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले श्रीमानको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छन् ।

उनका श्रीमान केशव नेपालको शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएका थिए । बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएकोले उनको शनिबार निधन भएको हो । स्थानीय देउनिया घाटमा दाहसंस्कार गरियो ।

दाहसंस्कारकै क्रममा श्रीमतिको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ । तर, रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किइन् । हाल निजी निवासमा श्रीमानको किरिया बारिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.