सरकारको जनतालाई उपाहार पेट्रोल लिटरको १ सय ५०

सरकारको जनतालाई उपाहार पेट्रोल लिटरको १ सय ५०

काठमाण्डौ । नेपाल आयल निगमले फेरी मूल्य बृद्धि गरेको छ । निगमले विहिबारदेखि लागू हुनेगरी निगमले मूल्य बृद्धि गरेको हो । नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च रहेको जनाइएको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच–पाँच रुपैयाँ मूल्य बढाएपछि काठमाण्डौ उपत्यकामा पेट्रोलको प्रतिलिटर एक सय ५० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय ३३ रुपैयाँ पर्नेछ ।

करसहित निगमको ढुवानी खर्च र मुनाफा जोडेर बिक्री मूल्य तय हुन्छ । तर निगमले इन्धनमा अझै पनि घाटा रहेको जनाएको छ । पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने गरेको निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर झन्डै २० रुपैयाँ नाफा छ । पेट्रोलियम पदार्थको भाउ निरन्तर बढ्दो छ । तर सरकारले इन्धनमा लगाएको कर घटाएर उपभोक्तालाई राहत दिन चासो देखाएको छैन ।

आईओसीबाट ९३ रुपैयाँ ७८ पैसामा खरिद गरेको पेट्रोलमा ५९ रुपैयाँ ४८ पैसा कर लाग्दै आएको छ । त्यस्तै ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजलमा ४२ रुपैयाँ १६ पैसा कर लाग्छ । ८८ रुपैयाँ ८३ पैसामा किनिएको मट्टीतेलमा १३ रुपैयाँ ३६ पैसा र १६ सय ४१ रुपैयाँ २३ पैसामा किनेको ग्यासमा दुई सय ८० रुपैयाँ ३० पैसा कर लाग्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.