भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

सशस्त्र प्रहरीले डुबानमा परेका ३९ परिवारको खाद्यान्न जोगायो

सशस्त्र प्रहरीले डुबानमा परेका ३९ परिवारको खाद्यान्न जोगायो

कञ्चनपुर । भीमदत्त नगरपालिका क्षेत्रमा वर्षाका कारण डुबानमा परेका परिवारका घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र अन्य महत्वपूर्ण सामान क्षति हुनबाट सशस्त्र प्रहरीले जोगाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त–९ खल्ला, वडा नं १० भुजेला, वडा नं ५ बनखेत र दोधारा चाँदनी नगरपालिका–३ जमुनाघारीका गरी ३९ परिवारको घर डुबानमा परेको हो ।

वर्षाका कारण नदी तथा खोलाको बहाव बढेसँगै पानी घरभित्र पसेपछि खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण सामान सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । धनजनको क्षति हुन नदिनका लागि डुबानमा परेका परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ । यसैबीच सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतिकभरको भवनलाई जोगबुढा नदीको बाढीको पानीले डुबानमा पारेपछि नजिकैको हरिओम आधारभूत विद्यालयमा सशस्त्र प्रहरीलाई सारिएको छ ।

रातिदेखिको लगातारको वर्षाका कारण महेन्द्रनगर बजार क्षेत्रका अधिकांश घर डुबानमा परेका थिए । अहिले वर्षा हुने क्रम रोकिएसँगै डुबान क्षेत्रबाट पानी घट्ने क्रम जारी रहेको छ । वर्षाका कारण महेन्द्रनगर बजारसहित ऐठपुर, बसपार्क र सब्जीमण्डी क्षेत्र डुबानमा परेको थियो । महेन्द्रनगर बजारमा ढल व्यवस्थापनको कार्य नगरिँदा थोरै पानी पर्दासमेत बजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।

स्थानीयवासीले खोला मिचेर घरलगायतका भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दोरुपमा हुन थालेपछि पानी बग्ने निकास रोकिँदा डुबान हुने गरेको स्थानीयवासीको भनाइ रहेको छ । यसैबीच भीमदत्त–५ मा रहेको वृद्ध सेवा केन्द्रमा नजिकैको नालाको पानी भरिँदा लाखौँको नोक्सानी भएको छ । वृद्धाश्रमका सञ्चालिका शारदा चन्दका अनुसार भण्डारण गरेर राखिएको खाद्यान्नमा पानी पस्दा भिजेर कामै नलाग्ने भएको छ । वृद्धाश्रममा पालिएका ५०० कुखुराका चल्लासमेत पानीमा डुबेर मरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.