काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अवस्था अहिले सम्मपनि उस्तै छ । समय थपिँदै जाँदा लागत ३५ अर्बबाट बढेर ८० अर्ब रुपैयाँ पुगिसकेको तर अबस्थामा कुनै परिवर्तन भएको छैन ।
बाँधस्थलबाट सुरुङमार्ग हुँदै पेनस्टक पाइपमार्फत पानी खसाल्ने ठूला पाइप जडान गर्ने जिम्मा पाएको भारतीय ठेकेदारका लापरबाहीले यो परियोजनामा बाधेढुंगो बनेको छ । जसका कारण पाँच वर्षमा सकिने राष्ट्रिय गौरवको योजनाको काम सुरु भएको ११औं वर्षमा प्रवेश गर्दा समेत पुरा हुन सकेको छैन ।
स्वदेशी लगानीको सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजना भएका कारण आयोजनाका अधिकारीहरूलाई दबाब भए पनि ठेकेदारले काम नगरिदिँदा आयोजना अझै अनिश्चित हुने चिन्ताले स्थानीयलाई सताएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गबाट भूमिगत विद्युत् गृहभित्र प्रवेश गर्दा आयोजनाको सिंगै विद्युत् गृह तयारी भइसकेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।
