६ विदेशीसहित २० जना अझै बेपत्ता

६ विदेशीसहित २० जना अझै बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा ६ विदेशीसहित २० जना अझै बेपत्ता भएका छन् । मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

अरु १६ जना स्थानीय सम्पर्कबिहीन भएको प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । खोजी जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । बुधबार दिनभरमा ७४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ । घाइते भएका ५ जना मध्ये ४ जनाको अस्पालमा उपचार भइरहेको छ ।

एक जनाको धुलिखेल अस्पताल र ३ जनाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । पहिरोका कारण हालसम्म चार पक्की पुल र पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै नदी आसपासमा रहेका सात वटा माछा फार्म बगेका छन् । बाढीबाट मेलम्ची नगरपालिकाका ६०० जना र हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीयवासी प्रभावित भएको प्रशासनको आकलन छ ।

 


Thali Mobile Pvt.Ltd.