देशको राजनैतिक अवस्था देख्दा वैराग लाग्नु पनि स्वभाविक छ । सत्तामा जाने र मात्तिने परमपराले गर्दा जनतामा वाक्क र दिक्क हुनु पनि बेसै छ । तर सरकारमा पुगेर दैनिक उपभोग्य बस्तुहरुको मुल्य बढाउनु र जनताको ढाड सेक्ने गरी मुल्य आकासिनु दुभाग्य नै छ ।
जसको सिता खानु उसको गित गाउँनु भने जस्तै यो सरकार जहाँबाट संचालित छ त्यसैको काम गरिरहेको छ । यसो गर्नु उसको कर्तव्य ठान्छ । हुदा हुदा राजधानी मै नागरिकको चुलोमा खाना पकाउने ग्याँसको कृतिम अभाव सुरु हुनु सरकारको नालायकी पन हो । यस्तो अवस्थाले सर्वसाधारण जनतालाई जीविका चलाउन मुश्किल भैसकेको छ ।
राष्ट्रका खम्बा युवाहरु बेरोजगार छन् । अझैपनि श्रम बेच्न खाडीमुलुकमा धाउन परेको छ तर उचित ज्याला पाउन सकेका छैनन् । कौडीको भरमा श्रमबेच्न वाध्य छन् । उहीले बन्द गराईएका देशका कलकारखानाहरु फेरी बनाउनेमा सरकारको ध्यान छैन । उद्योग धन्दाहरु ठप्पै छन् ।
गाउँँघरमा जग्गा जमिन बाझै छ । खेतीयोग्य जमिन प्लटिङ्ग गरेर भूमाफियाको रजाईं छ । घरआगनका बारी बाँझो राखेर युवा शक्ति विदेश पलायन भइरहेको छ । भएको खेतबारीमा अल्लो, सिस्नो र काँडेझारको झाडी पलाएको छ । यस्तो भाग्य फुटेका नागरिक हामी न त सही कुराका लागि वकालत गर्न सक्छौं न त खबरदारी गर्न नै लाग्छौं ।
बरु उल्टै नेतृत्वको चाकडी गरेर झन भ्रष्टाचारी बनाउन पछि पर्दैनौं । अनि कसरी हुन्छ ? राष्ट्र समृद्धि । नेपाली जनतालाई झूठा आश्वासन दिएर आफै मात्र सुविधामुखि भएर देश कहाँ पुगिएला महाशय ? त्यसैले अक्कल बिनाको नक्कलीे आधुनिकतामा देशलाई रुमलेर ग्रसित बनेका हामीले अब सोच्ने बेला आएको छ ।
जताततै छलकपट, भ्रष्टाचार, हत्याहिंसा, गुण्दागर्दी, बलात्कारले देश डुविसकेको छ । अश्लिलता, उछिङ्ख, अभाव जताततै छ । अझ यसो भनौं मौनतामा मानवता हराएको भान हुन थालेको छ । यसको कारक तत्व भनेको को हो ? तपाईं हामीले बुझेकै कुरा हो ।
तपाईं हामी सबैलाई थाहा छ । जब सरकारमा बसेकाहरु नै जनताको पीडामा बेखबर बनेपछि राष्ट्रमा अराजकता मौलाउँछ । हामी पनि उस्तै खबरदारी गर्ने भन्दा पनि भए होस भनेर बेवास्ता गर्छौ । अहिले चुनाव आएको छ । फेरी पनि जनताले आफ्नो भोट विक्री गरेपछि हुने यस्तै हो ।
चुरा, डोरी, एक बोरा चामल तथा एक बोतल वियर र भात मासुमा विक्रि भएपछि देशको भविष्य खतरामा पर्छ । चोर डाकाहरु नै फेरी राज्यसत्ता चलाउन पुग्छन् र जनता माथि लुटमचाउँछन् । त्यसैले यो चुनावमा बेखबर बन्नु भन्दा सही नेता चुन्न जरुरी छ । फेरि पनि तिनै नेताहरुलाई भोट दियौं भने मुलुकको दोहन बाहेक अरु केही हुनेवाला छैन ।
तपाईं हामी सचेत बन्नु पर्ने बेला आएको छ । लुट्न पल्केकाहरु फेरी फेरी चुनावमा भोट माग्नका लागि आउँदै छन् । फेरी उनीहरुलाई नै भोट दिएर देश बेच्ने लाईसन दियौं भने देश बेच्न पछि पर्ने छैनन् । त्यसैले आउदो बैशाख ३० गते हुन गइरहेको चुनाव बहिस्कार गरौं र देश जोगाउन तर्फ लागौं भन्ने मेरो लेखको आसय हो ।
यदि यसो गर्न नसके जनताका मान्छेलाई हेरेर विचार गरेर भोट दिऔं । तर अहिले राष्ट्रको आवश्यक्ता भनेको नेपाल समाजवादी कांग्रेस सहितको राष्ट्रिय सरकार गठन नै हो । यसमा सबै राजनैतिक दलहरुले सोच्न जरुरी छ । यदि यसो हुन सकेन र गरेनौं भने देश ठूलो दुर्घटनामा पर्ने निश्चित छ ।
मुलुकलाई दुर्घटनाबाट जोगाउन राष्ट्रिय सरकार गठन गरौं । तत्तपश्चात् चुनाव सम्पन्न गरौंला । यसो भएपछि मात्र राष्ट्र र जनताले मुक्ति सहितको निकास पाउँछ । धन्यवाद ! जय नेपाल !!
पुष्प राणा (घले) (लेखक नेपाल समाजवादी कांग्रेसको उपाध्यक्ष र हाल बेलायतमा हुनुहुन्छ)
