भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी

अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी

झापा । शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताए । उहाँ आफैँले पालेको ४० घार मौरी मरेको छ ।

बर्खायाममा घारलाई टाढासम्म डुलाएर मौरी चराउने चलन छ । झापाको चारआली र मोरङको बेतना जङ्गल आसपास चरनमा लगिएका मौरी मरेर सोत्तर भएका छन् । मौरी के कारणले मरेका हुन् भन्ने पत्ता लगाउन सकिएको छैन । उहाँका अनुसार यसबाट मौरीपालक किसानलाई रु ३४ लाखभन्दा बढी क्षति भएको छ । मौरी मरेको थप घटनाको विवरण आउन बाँकी रहेको हुँदा क्षतिको मात्रा अझ बढ्ने उहाँको भनाइ छ ।

शिवसताक्षीको गजुरमुखी मौरी फर्मकी सञ्चालक धनमाया पाठकले १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको जानकारी दिनुभयो । पशुपति मह उद्योगका सञ्चालक पशुपति बस्नेतले अज्ञात रोगका कारण १० घार मौरी घरमै मरेको बताउनुभयो । सोम दाहालको ४०, सन्तकुमारी मुखियाको ३५, धनमाया थापाको २०, टीका थापाको २५, फूलकुमारी चौधरीको १०, नन्दकुमार दङ्गालको ३१ र डिकुरादेवी गजुरेलको ३५ घार मौरी अज्ञात रोगले मरेको छ ।

मौरीपालन व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका स्थानीय किसान मौरी मर्ने घटना बढेपछि चिन्तित बनेका छन् । मौरीको घारको बीमा नगरिएका कारण क्षतिपूर्ति पाउने सम्भावना पनि छैन । झापाको शिवसताक्षी मौरीपालनका लागि केन्द्र मानिन्छ । जहाँ तीन हजार घार मौरी पालिँदै आएको छ । यहाँ वार्षिक ११ टन मह उत्पादन हुने गरेको मह उत्पादन केन्द्रका सचिव तथा पूर्ववरिष्ठ बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेल बताउनुहुन्छ ।

मह प्रशोधन केन्द्रले किसानबाट रु ४०० प्रतिकेजीका दरले मह खरीद गर्दै आएको छ । यो हिसाबले शिवसताक्षीमा वार्षिक रु चार करोड २० लाखको मह उत्पादन हुने गरेको छ । मौरी मरेर सोत्तर भएपछि किसानले अपूरणीय क्षति व्यहोर्नु परेको खरेल बताउनुहुन्छ । कैयौँ किसानले भर्खर ऋण लिएर मौरी पाल्न शुरु गरेका थिए । कसरी कर्जा तिर्ने भन्ने समस्याले किसानलाई सताउन थालेको छ ।

“मौरीको घार खरीद गरेको ऋण तिर्न बाँकी नै छ, अब कसो गर्ने ”, गजुरमुखी मौरी फार्मका सञ्चालक धनमाया पाठकले चिन्ता व्यक्त गर्दै भन्नुभयो । उहाँको १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको थियो । सत्र घार मौरी मर्दा रु दुई लाख ५५ हजार बराबरको क्षति भएको छ ।

व्यवस्थापक दाहालले मौरीमा रोगको लक्षण केही नदेखिएको जनाउँदै झार मार्ने विषादीको अत्यधिक प्रयोगका कारण चरनमा भएको बेला पानी पिउँदा मौरी मरेको हुनसक्ने बताउनुभयो । मौरी मर्ने रोग पनि हुने जनाउँदै कृषि विज्ञ राजेन्द्रप्रसाद खरेलले मौरीपालन व्यवसाय नै धराशायी हुने जोखिम बढेको बताए।

 


Thali Mobile Pvt.Ltd.