अदालतले खाइदियो प्रधानमन्त्रीको पद, परे निलम्बनमा

अदालतले खाइदियो प्रधानमन्त्रीको पद, परे निलम्बनमा

काठमाडाैं ।  संवैधानिक अदालतले थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचालाई निलम्बन गरेको छ । थाइल्यान्डमा सन् २०१७ मा बनेको संविधानले एक व्यक्ति प्रधानमन्त्री पदमा आठ वर्षभन्दा बढी बस्न नपाउने व्यवस्था गरेपछि कानुनले तोकेको आठ वर्षे कार्यकाल सकिएको भन्दै संवैधानिक अदालतले प्रधानमन्त्री प्रयुत चान ओचालाई निलम्बन गरेको हो ।

सन् २०१७ मा सेनाले बनाएको संविधान लागू भएपछि थाइल्यान्डमा सन् २०१९ मा चुनाव भएको थियो । विवादास्पद चुनाव जितेका प्रयुत प्रधानमन्त्री भएपछि सन् २०२० मा सरकार विरोधी प्रदर्शनहरू भएका थिए । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नभएको, अर्थतन्त्र कमजोर भएको लगायतका आरोपको सामना गरिरहेका प्रधानमन्त्री प्रयुतले अहिले संवैधानिक व्यवस्थाको सामना गर्नुपरेको छ ।

सन् २०१४ मा प्रधानमन्त्री बनेका प्रयुतको कार्यकाल यही कानुनी व्यवस्थाअनुसार सकिने भन्दै विपक्षी दलहरूले संवैधानिक अदालतमा रिट दायर गरेका हुन् । तर प्रधानमन्त्री प्रयुतका समर्थकहरूले भने सन् २०१७ मा संवैधानिक व्यवस्था भएपछिको कार्यकाल मात्रै गणना गरेर आठ वर्ष कार्यकाल हुनुपर्ने दाबी गर्दै आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.