भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

अनुदान पाएपछि किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

अनुदान पाएपछि किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख गराइएको छ । व्यावसायिकरूपमा बाख्रापालनका लागि परियोजनाले रु १५ लाख २२ हजार १५० र समूहमा आबद्ध किसानले रु १४ लाख ७० हजार ५० रकम बेहोर्ने सम्झौता गरिएको छ ।

कार्यक्रमको कूल लागत रु ३० लाख रहेको छ । समूहमा आबद्ध २४ परिवारले गरेको बाख्रापालनबाट ११५ जना लाभान्वित भएका छन् । नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टले खरी, जमुनापारी, बोयर क्रस, वारवरी, विटल, सिरोही, जमुनापारी क्रस जातका बाख्रा वितरण गरिएको जानकारी दिनुभयो।“व्यावसायिकरूपमा बाख्रापालनको कार्यमा संलग्न किसानलाई आधुनिक तरिकाले बाख्रापालन गर्ने तौरतरिकाबारे तालिमका माध्यमबाट जानकारी दिनका लागि कार्य अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो, “खोर व्यवस्थापनदेखि आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि किसानलाई सुसूचित गर्दैछौँ ।”

उहाँका अनुसार बाख्रामा विशेषगरी निमोनिया, खोरेत, भ्यागुते, थुनिलो, कक्सीडियोसीस, कन्टेजियस इकथाइमा, जुकालगायतका रोग देखापर्ने गरेका छन् । बाख्रालाई सन्तुलित आहारको व्यवस्थाका लागि समेत किसानलाई जानकारी दिने गरिएको उहाँले बताउनुभयो । बाख्राका लागि आवश्यक पर्ने डालेघाँस र अन्य पोषणयुक्त घाँसका बिरुवा लगाउनका लागि गाउँ नजिकैको सार्वजनिक नदी तटीय क्षेत्रको जग्गालाई छनोट गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए । नदी तटीय क्षेत्रमा झण्डै २० बिघा क्षेत्रफलमा तारबार गरी घाँस रोप्ने कार्यलाई केही दिनभित्रै शुरु गरिने उहाँको भनाइ छ ।

मध्यवर्ती युवा बाख्रापालन समूहका अध्यक्ष तेजबहादुर विष्टले परम्परागत तरिकाले बाख्रापालन गर्दा लागत खर्च धेरै आउने गरेको उल्लेख गर्दै आधुनिक तरिकाले बाख्रापालन गर्दा लागत घटन गई आम्दानी बढ्ने भएकाले यसलाई व्यावसायिकरूपमा अगाडि बढाउन हौसिएको बताए । “चरिनचरनका लागि विगतको जस्तो बाख्रालाई निकुञ्ज क्षेत्रमा अब लग्दैनौँ”, उहाँले भन्नुभयो, “पोषणयुक्त घाँसखेती गरी घरमै व्यवस्थितरूपमा बनाइएका खोरमा राखेर बाख्रापालनको कार्य हुन्छ ।”

बाख्रापलन विशेषगरी मासु र दुग्ध पदार्थ उत्पादनका लागि गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले बताए । उहाँले भन्नुभयो, “बाख्रापलन कम लागत र सामान्य हेरचाह गर्दा पुग्ने भएकाले विपन्न वर्गका किसानको जीविकोपार्जनको माध्यमका रूपमा यो व्यवसाय रहेको छ । गरिबी हटाई विपन्न वर्गका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि यस व्यवसायले सघाउ पु¥याउने विश्वास लिएका छौँ ।”

व्यावसायिकरूपमा बाख्रापालन व्यवसायमा संलग्न किसानको व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाबाट समेत सहयोग गर्न तत्पर रहेको उहाँले बताउनुभयो । मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई व्यावसायिक बाख्रापालनतर्फ डोहो¥याइएको उहाँको भनाइ छ । सिमलफाँटा गाउँका अधिकांश परिवारले बाख्रापालन गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.